एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको गोलवर्षा

सफल खबर संवाददाता

सोमबार, ०५ चैत्र २०८०, ०८ : ०१
एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको गोलवर्षा

एजेन्सी । किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पेरिस सेन्ट जर्मेनले मोन्टपेलियरमाथि गोल वर्षा गरेको छ । ६–२ गोल अन्तरले जीत हासिल गर्दै पीएसजी लिग वानको शीर्ष स्थानमा १२ अङ्कले अघि बढेको हो ।

खेलमा भिटिन्हाले पीएसजीलाई अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा एम्बाप्पेले टोलीको अग्रता दोब्बर बनाए । तर अरनाउड नोर्डिन र टेजी साभानियरले गोल गरेपछि मोन्टपेलियर खेलमा फर्कियो । 

दोस्रो हाफको सुरुवातमा गोल गर्दै एम्बाप्पेले पुनः टोलीलाई अग्रता दिलाए । लगत्तै लि कङ–इनले अर्को गोल थपे । ६३ औँ मिनेटमा एम्बाप्पेले ह्याट्रिक पूरा गरे । खेलको अन्त्यमा नुनो मेन्डेसले पीएसजीको गोल सङ्ख्या आधा दर्जन पुर्‍याए ।

यो सिजन लिगमा एम्बाप्पेले २४ गोल गरेका छन् । उनको यो तेस्रो ह्याट्रिक पनि थियो । २६ खेलबाट पीएसजीको ५९ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको ब्रेस्टको ४७ अङ्क छ ।

प्रतिक्रिया दिनुहोस