सर्वसुलभ ढङ्गले गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

सफल खबर संवाददाता

शनिबार, ०३ चैत्र २०८०, १६ : २६
सर्वसुलभ ढङ्गले गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ : राष्ट्रपति  पौडेल

लहान । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्ति, समाज र देशको सर्वाङ्गीण विकासमात्र होइन चेतना, ज्ञान, अनुशासन, संस्कार र सभ्यता निर्माणको आधार पनि भएको बताएका छन् । पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वा सिरहाको हीरक जयन्ती समारोहको शनिबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्। 

 

“त्यसैले सरकारको नीति, बजेट र योजना समय अनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ”, उनले भने । 

 

उनले रोजगारी र शिक्षाको लागि सहर पस्ने र सहर हुँदै विदेशीने प्रवृत्ति बढिरहेका बेला स्थानीयस्तरमै विद्यालय तहमा सहज, सरल र सर्वसुलभ ढङ्गले गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ विशेष ध्यान जानु आवश्यक देखिएको बताए ।  

 

खासगरी वर्तमान विश्वपरिवेशको माग अनुरुपको शिक्षा नीति, पाठ्यक्रम र प्रविधियुक्त प्रतिस्पर्धी, गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तरअनुरुपको शिक्षा प्रदान गर्नेतर्फ हाम्रो उपलब्ध शक्ति र सामर्थ्यको प्रयोग गर्न पनि राष्ट्रपति पौडेलले आग्रह गरे । “यहाँका विद्यालयले यसतर्फ स्थानीय निकाय र सरोकारवालालाई आकर्षित गरी युग सुहाउँदो शिक्षा बालबालिकालाई प्रदान गर्न अझै मेहनत र क्रियाशीलता देखाउनुहुने मैले विश्वास लिएको छु”, उनले भने । 

उनले विद्यालय हामी सबैको भएको र यसको संरक्षण तथा संवर्धनमा सामूहिक भावनाको विकास हुनु अपरिहार्य छ जहाँ हाम्रा सन्तति र कर्णधारको भविष्य सुरक्षित हुनेछ भने । “त्यसैले विद्यालयप्रति स्थानीय निकाय, अभिभावक र समुदायको अविच्छिन्न अभिभावकत्व र निगरानी अपेक्षित छ, श्रम गर्ने संस्कृतिको सम्मान, रोजगारी, उत्पादन र आर्थिक क्रियाकलापसँगै राष्ट्रिय एकता र अनुशासनको भावना जागृत गर्ने शिक्षालाई प्राथमिकता दिन आवश्यक पाठ्यक्रम र पठनपाठन विधि अपनाउन पनि म यहाँहरूलाई आग्रह गर्दछु”, राष्ट्रपति पौडेलले भने ।

उनले त्यसका लागि तीनै तहको सरकार र सरोकारवालाको सहयोग लिएर आवश्यक उपकरण, भौतिक पूर्वाधार र दक्ष जनशक्तिको विकास गर्न आवश्यक मात्र होइन अपरिहार्य पनि रहेको जिकिर गरे । 

सात दशकभन्दा बढी लामो समयसम्म स्थानीय स्तरमा सहज र सरलरुपले गुणस्तरीय शिक्षा दिएर विद्यालयले यस क्षेत्रको शैक्षिक, आर्थिक, सांस्कृतिक र सामाजिकलगायतका क्षेत्रमा पुर्‍याएको योगदानको राष्ट्रपति पौडेलले सराहना गरे । साथै भविष्यमा पनि सो विद्यालयले दक्ष जनशक्ति, आवश्यक प्राविधिक एवम् भौतिक पूर्वाधार तथा विद्यार्थी र अभिभावकको चाहनाअनुसारको पठनपाठनमा अझै प्रगति गरोस् र देश विदेशमा विद्यालयबाट शिक्षित भएका विद्यार्थीले देशको शान र गौरव उँचो बनाउन योगदान दिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस