कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेपछि श्रममन्त्रीको जवाफ: दिनुपर्ने आधार भएपछि माग्नैपर्दैन आफैँ दिन्छौँ

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, १५ : ४०
कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेपछि श्रममन्त्रीको जवाफ: दिनुपर्ने आधार भएपछि माग्नैपर्दैन आफैँ दिन्छौँ

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आधार पुगेको दिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफैँ राजीनामा दिने बताएका छन् । शुक्रवारको प्रतिनिधिसभा बैठकबाट बाहिरिँदै मन्त्री अर्यालले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि प्रमाण पुगेको खण्डमा कसैले राजीनामा माग्नै नपर्ने बताएका हुन् । 

 

‘बैठक अवरुद्ध गर्ने, बजेट आउन नदिने, विधेयक प्रस्तुत गर्न नदिने पनि हुन्छ । हिजो सत्तापक्ष हुँदा ठीक अहिले प्रतिपक्षी हुँदा सबै बेठीक ?’ मन्त्री अर्यायले भने, ‘हाम्रा सभापतिलाई आरोप कहाँ लागेको छ ? उजुरी सर्टिफाइ छ ? जाहेरीमा कानून, ऐन, नियम पूरा गरेको छ कि छैन ? प्रहरीलाई सोध्नु जाहेरी लिएको छ कि छैन ।

राजीनामा दिनुपर्ने कारण छैन । माग्दैमा राजीनामा दिने होइन । मन्त्रीले राजीनामा दिने आधार भए माग्नु पर्दैन आफैँ दिन्छौं । हामी प्रमाणमा, आधारमा बहस गरौं ।’

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस विषयमा प्रष्ट पारिसकेको पनि उनले बताए ।प्रमुख प्रतिपक्षी दलका सांसदहरूले शुक्रवार प्रतिनिधिसभामा गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका थिए ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा रहेको व्यक्ति गृहमन्त्री हुन नहुने भन्दै सांसदहरूले राजीनामा मागेका हुन् । बैठकमा बोल्दै कांग्रेसका करिब एक दर्जन सांसदले लामिछानेको राजीनामा मागेका हुन् ।यसैको जवाफ रास्वपाका उपसभापतिसमेत रहेका मन्त्री अर्यालले दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस