प्रधानमन्त्रीको लेगेसीलाई फराकिलो बनाउने प्रयासमा रास्वपाले साथ दिएको छ : स्वर्णिम वाग्ले

सफल खबर संवाददाता

बुधबार, ३० फागुन २०८०, १३ : ४२
प्रधानमन्त्रीको लेगेसीलाई फराकिलो बनाउने प्रयासमा रास्वपाले साथ दिएको छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को राष्ट्र हितको सवालमा लेगेसी दरिलो बनाउने चाहनालाई पार्टीले जोखिम मोलेरै साथ दिएको बताएका छन्।

प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि बुधबारको प्रतिनिधि सभा बैठकमा राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै रास्वपा उपसभापतिसमेत रहेका वाग्लेले प्रधानमन्त्रीको लेगेसीलाई फराकिलो बनाउने प्रयासमा रास्वपाले साथ दिएको बताएका हुन्। रास्वपा चार मन्त्रीसहित अहिलेको सरकारमा सहभागी छ।

‘तीन महिनाअघि पनि उहाँको कुर्सी हल्लिएको थिएन। एक हप्ताअघि पनि उहाँको कुर्सी हल्लिएको थिएन। त्यसैले अस्थिरता र बेइमानीजस्ता भास्यभन्दा माथि उठे‍र हामीले उहाँको बेचैनीको जरैसम्म पुग्न खोज्यौं भने मलाई लाग्छ हामीले उहाँलाई न्याय गर्छौं,’ वाग्लेले भने, ‘ब्याज खाएर होइन, कुर्सी ओगटेर होइन, कामै गरेर राष्ट्र हितका सवालमा प्रधानमन्त्रीज्यूको आफ्नो लेगेसीलाई दरिलो बनाउने चाहना र फराकिलो बनाउने प्रयासमा रास्वपाले जोखिम मोलेरै साथ दिएको छ।’