चलचित्र क्षेत्रमा निरन्तर तपस्या गरेपछि आजको स्थान प्राप्त भयो : भुवन केसी

सफल खबर संवाददाता

बुधबार, ३० फागुन २०८०, १० : ५६
चलचित्र क्षेत्रमा निरन्तर तपस्या गरेपछि आजको स्थान प्राप्त भयो : भुवन केसी

काठमाडौँ । ‘दोस्रो कर्णाली चलचित्र कार्यशाला–२०८०’ सुर्खेतमा सम्पन्न भएको छ । चलचित्र विकाश बोर्डका अध्यक्ष एवं अग्रज अभिनेता भुवन केसीको मास्टर क्लाससहित कार्यशाला सकिएको हो ।

केवी इन्टरटेनमेन्ट प्रा.लि.को आयोजना तथा चलचित्र विकाश बोर्डको सह–आयोजना रहेको कार्यशाला २३ फागुनबाट २८ फागुनसम्म चलेको थियो । कर्णाली प्रदेशका १० जिल्लाका २५ जना विद्यार्थीको कार्यशालामा सहभागिता थियो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष अभिनेता भुवन केसीले आफूले अभिनयलाई अँगालेर चलचित्र क्षेत्रमा निरन्तर तपस्या गरेपछि मात्र आज यो स्थान प्राप्त भएको बताए । ‘नेपाली खसभाषाको उद्गम थलो कर्णाली प्राकृतिक र संस्कृतिका हिसाबले धनी प्रदेश हो । कर्णालीको कथामा बनेका क्याराभान, कालोपोथी सहित अन्य चलचित्रले अन्तर्राष्ट्रिय बजारमा नेपाललाई चिनाइसकेको छ’, केसीले भने । कार्यशालामा सहभागी विद्यार्थीहरूले आउँदा दिनमा चलचित्र क्षेत्रमा राम्रो काम गर्ने विश्वास आफूले लिएको केसीले बताए ।

२०७९ सालमा आयोजना गरेको पहिलो कार्यशालाले यहाँका युवाहरूलाई चलचित्र क्षेत्रमा आकर्षित गरेपछि यसपटक उनीहरूलाई एडभान्स कोर्स सैद्धान्तिक र प्रयोगात्मक रूपमा सिकाइएको आयोजक संस्थाका अध्यक्ष एवम् चलचित्र सेन्सर बोर्ड सदस्य भूपेन्द्र खड्काले बताए । कर्णालीको सुन्दरता र संस्कृतिलाई स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनका लागि दोस्रो पटक पनि यो कार्यशाला आयोजना गरेको खड्काको धारणा रहेको छ ।

कार्यशालामा चलचित्र लेखक÷निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्क्रिप्ट लेखन र चलचित्र निर्देशन, अभिनेत्री एवम् रँगकर्मी सरिता गिरीले अभिनय, सञ्चारकर्मी तथा मेकअप आर्टिष्ट सरिता भारतीले फिल्ममा क्यारेक्टर ट्रन्सफर्मेसन इफेक्ट मेकअपसम्बन्धि प्रशिक्षण दिएका थिए । प्रयोगात्मक रूपमा भएको यो प्रशिक्षणमा उनीहरूलाई दृष्य छायाङ्कन र स्थलगत अभ्यास सहित सम्बन्धित कला सिकाइएको थियो । 

कार्यशालामा हरेक विद्यार्थीले अभिनय र एक्सन कटसँगै आफ्नै कथा दृश्यगत रूपमा भनेका थिए । यो कार्यशालाको स्थानीय संयोजक निर्मल प्याकुरेलले यसपटकको कार्यशाला कर्णालीका उदाउँदै गरेका युवा सिनेकर्मीहरुका लागि निकै फलदायी भएको बताए । 

कार्यशालाको समापन समारोहमा दैलेखका अग्रज गायक मोहन गौतमलाई नेपाली लोक सङ्गीत क्षेत्रमा चार दशक भन्दा लामो समय योगदान दिएको भन्दै केवी इन्टरटेनमेन्ट प्रा.लि.बाट बोर्ड अध्यक्ष भुवन केसीले सम्मान गरे । 

समारोहमा कर्णालीका अग्रज कलाकार प्रेमदेव गिरी, गँगा केसी, सम्मानित व्यक्तित्व मोहन गौतमलगायतले यो कार्यशालाले कर्णालीमा राम्रो चलचित्र, वृत्तचित्र अब निर्माण हुने विश्वास व्यक्त गरे । यो कार्यशालाको सहयोगी संस्थामा युवा परिषद् तथा सह प्रयोजकमा नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरण र नेपाल पर्यटन बोर्ड रहेको थियो । 

प्रतिक्रिया दिनुहोस