अस्ट्रेलिया र न्युजिल्यान्डबिचको दोस्रो टेस्ट रोचक मोडमा

सफल खबर संवाददाता

आइतबार, २७ फागुन २०८०, ११ : ५४
अस्ट्रेलिया र न्युजिल्यान्डबिचको दोस्रो टेस्ट रोचक मोडमा

काठमाडौँ । अस्ट्रेलिया र न्युजिल्यान्डबिचको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट रोचक मोडमा पुगेको छ । तेस्रो दिन आइतबारको खेल सकिँदासम्म भ्रमणकारी टोली अस्ट्रेलियाले आफ्नो दोस्रो पालीमा चार विकेट गुमाएर ७७ रन बनाएको छ ।

दुई दिनको खेल बाँकी रहँदा अस्ट्रेलियालाई जितका लागि थप दुई सय दुई रन आवश्यक छ । दुई सय ७९ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको अस्ट्रेलियाका माथिल्लो क्रमका ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

दोस्रो पालीमा अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान स्टिभन स्मिथले नौ र उसमान ख्वाजाले ११ रनमात्र बनाउन सके । तेस्रो नम्बरका ब्याट्सम्यान मार्नस लाम्बुसेन पनि ६ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए ।  क्यामरुन ग्रिन पनि पाँच रन बनाउँदै आउट भए । तेस्रो दिनको खेल सकिँदा ट्राभिस हेड १७ र मिचेल मार्स २७ रन बनाउँदै क्रिजमा सँघर्षरत छन् । न्युजिल्यान्डका बलर म्यान हेनरी र बेन सियर्सले दुई–दुई विकेट लिए ।

त्यसअघि घरेलु टोली न्युजिल्यान्डले आफ्नो दोस्रो पालीमा तीन सय ७२ रन बनाएको थियो । दोस्रो पालीमा न्युजिल्यान्डका लागि चार ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । युवा ब्याट्सम्यान रचिन रविन्द्रले ८२ रनको योगदान गरे ।  यसैगरी ओपनर टम लाथमले ७३ रन बनाएका थिए । ड्यारल मिचेलले पनि टोलीको खातामा ५८ रन थपेका थिए । केन विलियम्सनले ५१ रन बनाएका थिए । अनुभवी ब्याट्सम्यान विलियम्सनको यो एक सयौँ टेस्ट सहभागिता पनि हो ।

दोस्रो पालीमा अस्ट्रेलियाका बलर प्याट कमिन्सले चार र नाथन लियोनले तीन विकेट लिएका थिए । त्यसअघि अस्ट्रेलियाले आफ्नो पहिलो पालीमा दुई सय ५६ रन बनाएको थियो । पहिलो पालीमा अस्ट्रेलियाका लागि मार्नस लाम्बुसेनले ९० रनको योगदान गरेका थिए ।

पहिलो पालीमा न्युजिल्यान्डका बलर म्याट हेनरी एक्लैले सात विकेट लिएका थिए । उनले २३ ओभरमा चार मेडन राख्दै ६७ रन खर्चिएका थिए । न्युजिल्यान्डले भने पहिलो पालीमा एक सय ६२ रनमात्र बनाउन सकेको थियो ।

पहिलो पालीमा न्युजिल्यान्डका लागि ओपनर टम लाथमले सर्वाधिक ३८ रन बनाएका थिए । पहिलो पालीमा अस्ट्रेलियाका बलर जस हेजलउडले पाँच र मिचेल स्टार्कले तीन विकेट लिएका थिए ।  न्युजिल्यान्डको क्राइस्टचर्चमा जारी दोस्रो टेस्टमा अस्ट्रेलियाले टस जिती पहिले फिल्डिङको निणर्य लिएको थियो । दुई टेस्टको शृंखलामा हाल अस्ट्रेलिया १० ले अगाडि छ ।