दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

एजेन्सी

शनिबार, २६ फागुन २०८०, १४ : ०५
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

सियोल ।  इन्डोनेसियाली नागरिकसहित नौ जना सवार दक्षिण कोरियाली माछा मार्ने डुङ्गा शनिवार देशको दक्षिणी तटमा पल्टिँदा ६ जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् । दक्षिण कोरियाली योनहाप समाचार संस्थाका अनुसार २९ टन क्षमताको डुङ्गा शनिवार बिहान तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिटर दक्षिणमा समुद्रमा पल्टिएको थियो ।

कोरिया कोस्ट गार्डको टोङयोङ कार्यालयले एएफपीलाई दिएको जानकारीअनुसार चालक दलका तीन सदस्यलाई उद्धार गरिएको छ तर सबै अचेत अवस्थामा छन् । “हामी अझै पनि हराइरहेका छ जनाको खोजी गरिरहेका छौं,” सरकारी अधिकारी ली हो–जुनले भने ।  दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सम्बन्धित अधिकारीहरूलाई ‘नौसेना र माछा मार्ने डुङ्गाहरू सहित सबै उपलब्ध कर्मचारी र उपकरणहरू परिचालन गरेर जीवन बचाउन सक्दो प्रयास गर्न’ निर्देशन दिएका छन् ।

योनहापका अनुसार डुङ्गा बिहीबार बिहान देशको दक्षिणी टापु जेजुबाट छुटेको र त्यसपछि माछा मार्ने काममा व्यस्त थियो ।