रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दो

रासस

बुधबार, २३ फागुन २०८०, १३ : ४८
रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दो

वीरगञ्ज (पर्सा) । मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता चलेको सुख्खा हावा र गर्मी बढ्दै गएपछि सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

कार्यालयका अनुसार वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको छ । दूधे बालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् । पछिल्लो केही दिनयता अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा.उदयनारायण सिंहले जानकारी दिए । 

रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी परेर दैनिक करिब ३० देखि ४० जनासम्म उपचारका लागि अस्पताल आउने गरेको डा.सिंहले बताए ।   अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले शय्याको अभाव भएको र भुईँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस