समीकरण टुटेपछिको कांग्रेस कार्यसम्पादनले के गर्ला ?

सफल खबर संवाददाता

मंगलबार, २२ फागुन २०८०, १३ : १२
समीकरण टुटेपछिको कांग्रेस कार्यसम्पादनले के गर्ला ?

काठमाडौं। आफू नेतृत्वको गठबन्धन टुटेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।आज दिउँसो ३ बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा देउवाले समीक्षा गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

 

बैठकमा गठबन्धन टुटेको विषय, राष्ट्रिय सभा अध्यक्षको चुनाव, महासमिति बैठकको निष्कर्षलाई अन्तिमरुप दिनेसहितका विषयमा छलफल गर्ने विश्वकर्मा बताउँछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस मन्त्री फेरबदल गर्न तयार नभएको र पटकपटक धोका दिएकोले गठबन्धन बदल्नुपरेको आरोप लगाएका छन् ।यता कांग्रेस सभापति देउवाले पनि आफूले विश्वास गर्दा प्रधानमन्त्रीबाट धोका भएको बताएका छन् ।

गठबन्धन टुटेकै दिन सोमबार देउवाले पदाधिकारीसँगको छलफल गर्दै प्रधानमन्त्रीले नै धोका दिएको बताएका थिए । प्रचण्डले आफैं  गठबन्धन तोडेपछि मन्त्रीलाई पनि फिर्ता नबोलाउने निर्णय गरेको थियो । 

‘प्रधानमन्त्रीले नै गठबन्धन तोडेपछि कांग्रेसका मन्त्रीले राजीनामा दिइरहन परेन भनेर नदिइएको हो’ विश्वकर्माले भने, ‘प्रधानमन्त्रीले धैर्यता नदेखाउँदाको परिणाम हो ।’नयाँ समीकरण अघि सत्ता गठबन्धनको बैठक बोलाए पनि प्रधानमन्त्रीले स्थगित गरेका थिए । 

कांग्रेस नेता डा. शेखर कोइरालाले गठबन्धन टुट्नुमा व्यक्तिगत हठ पनि जिम्मेवार भएको बताएका छन् ।‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर, हिजोको घटना सामान्य होइन', उनले लेखेका छन्, 'कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँग गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो सावित भयो । यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।’

देउवाले कार्यसम्पादन समितिका भएका ३७ सदस्यलाई बैठकमा बोलाएका छन् ।