निर्मलाकी आमा भन्छिन्,– न्याय दिनुहोस्, सक्नुहुन्न भने हामीलाई पनि मार्नुहोस्

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०७५, १६ : ०७
निर्मलाकी आमा भन्छिन्,– न्याय दिनुहोस्, सक्नुहुन्न भने हामीलाई पनि मार्नुहोस्

काठमाडौं  । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले प्रधानमन्त्री तथा राष्ट्रपतिसँग न्यायको याचना गरेकी छिन् ।

बिहीबार राजधानीमा एउटा साक्षात्कार कार्यक्रममा बोल्दै दुर्गादेवीले भनिन्– 'यदि न्याय दिन सक्नुहुन्न भने हामी न्याय दिन सक्दैनौं, तपाईंहरुलाई मार्न चाहन्छौं भनिदिनुहोला । मेरी छोरी बलात्कारपछि बितेर यसरी देश तड्पिरहेको छ । मलाई पनि बरु गोली ठोक्नुस् । मलाई मार्छु भन्नुस्, म मर्न  पनि चाहन्छु ।'

उनले राखेको धारणाको सम्पादित अंशः
काठमाडौंबाट गएर बुद्धिजीवीहरुले सान्त्वना मात्रै दिए । तर हत्यारा पत्ता लागेर हाम्रोसामु खडा भएन । प्रधानमन्त्री पनि यहीँ हुनुहुन्छ, महिला राष्ट्रपति पनि यहीँ हुनुहुन्छ । न्याय दिलाउने काम पनि उहाँहरुको हातमा छ । जसरी पनि हामीलाई न्याय दिनुहोला भनेर प्रधानमन्त्रीको शरणमा हामी आएका छौं ।

राष्ट्रपति पनि आमा हुन्, उहाँको पनि छोरीलाई यस्तो भएको भए के हुन्थ्यो ? मेरो छोरी मात्रै होइन, आफ्नो पनि छोरी पनि सम्झिनु । मेरो ठाउँमा आफ्नो छोरी भएको भए के हुन्थ्यो भन्ने सोचेर जसरी पनि न्याय दिलाइदिनुस् भन्ने आशामा म यहाँ आएको छु ।

न्याय माग्न आएका हौं, न्याय दिलाउनुस् । न्याय नपाएपछि घर फर्कने कसरी ? दुई वटी छोरी पनि छोडेर आएका छौं । एक दिन पनि छोरी बिना बाँच्न गाह्रो हुन्थ्यो । तर छोरी छोडेर यहाँ तड्पिरहनुपरेको छ ।

राज्यलाई न्याय दिलाउनुस् भन्न चाहन्छौं । हामीलाई भुलाएर नफर्काइदिनुस् । यदि न्याय दिन सक्नुहुन्न भने हामी न्याय दिन सक्दैनौं, तपाईंहरुलाई मार्न चाहन्छौं भनिदिनुहोला । मेरी छोरीको बलात्कारपछि बितेर यसरी देश तड्पिरहेको छ । मलाई पनि बरु गोली ठोक्नुस् । मलाई मार्छु भन्नुस्, म मर्न  पनि चाहन्छु । जसरी पनि न्याय दिलाउनुहोस् । 

एकपछि अर्को ट्विस्ट
कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्त बलात्कार प्रकरणमा एकपछि अर्को ट्वीस्ट हुँदै गएको छ । घट्नास्थलमा प्रहरी बरिष्ठ उपरिक्षक ठाकुर ज्ञवालीको नेतृत्वको अनुसन्धान टोली पठाएर नयाँ शिराबाट अनुसन्धान

शुरु गरेको प्रहरी प्रधान कार्यालयले अर्को पनि अनुसन्धान टोली गठन गरेको छ । प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) उत्तम सुवेदीको कमाण्डमा गठन भएको अनुसन्धान टोलीले केन्द्रीय अनुसन्धान ब्यूरोबाट त्यतिबेला अनुसन्धानका लागि कञ्चनपुर गएको डिएसपी अंगुर जिसी, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र अनुसन्धानमा संलग्न अन्य प्रहरी कर्मचारीको भूमिकाबारे छानविन गर्ने बताइएको छ ।

‘कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी कर्मचारीहरु जो त्यतिवेला अनुसन्धानमा संलग्न थिए, उनीहरुको भूमिकाबारे छानविन गर्नका लागि यो टोली गठन भएको हो’ प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले भने, ‘हाम्रा प्रहरी अधिकारीबारे आन्तरिक रुपमा छानबिन गर्ने कार्यादेश यो टोलीले पाएको छ ।’ समितिमा पाँच जना सदस्य रहेका छन् ।

कञ्चनपुरका तत्कालीन एसपी बिष्ट र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले घट्ना भएको २४ दिनपछि अभियुक्त सार्वजनिक गरेका थिए । ब्युरोको टोलीले अनुसन्धानपछि सार्वजनिक गरेका ४९ बर्षीय दिलिपसिंह बिष्ट बलात्कारमा संलग्न भएको बारे स्थानीयले विश्वास नगरेपछि कञ्चनपुरमा जारी आन्दोलनले उग्ररुप लिएको थियो ।

अपराध अनुसन्धानमा अब्बल मानिने केन्द्रीय अनुसन्धान ब्यूरोको साख निर्मला बलात्कार प्रकरणमा खस्किएको छ । एउटै घट्नाले गर्दा प्रहरी संगठनप्रति नकारात्मक छाप परेपछि प्रहरी प्रधान कार्यालयले अनुसन्धान अधिकारी माथिनै छानविन थालेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस