भरतपुर । भरतपुर महानगरपालिकाले फोहोर व्यवस्थापनको लागि आज दक्षिण कोरिया कम्पनीसँग सम्झौता गरेको छ ।
महानगरपालिकाले फोहोर व्यवस्थापनमा कोरियाको एक नम्बरमा पर्ने कम्पनी सुधोकवन ल्याण्डफिल साइड म्यानेज्मेन्ट कर्पोरेसन रिपव्लिक अफ कोरियासँग फोहोर व्यवस्थापनको लागि आज एमओयू (सम्झौता) गरेको हो । भरतपुर महानगरपालिकाबाट प्रमुख रेनु दाहाल र रिपल्लिक अफ कोरियाबाट प्रेसिडेन्ट सियो जुओनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कोरियाको उक्त कम्पनीले यसअघि श्रीलंकालगायत विश्वका अन्य देशहरुमा फोहोर व्यवस्थापनमा उल्लेखनीय काम गरिसकेको छ । भरतपुर महानगरको सम्पूर्ण फोहोरको दीर्घकालीन व्यवस्थापनको लागि भरतपुर महानगरपालिका र रिपव्लिक अफ कोरियाबीच पाँच वटा बुँदामा हस्ताक्षर भएको छ । बुँदामा ल्याण्डफिल साइट निर्माणदेखि फोहोरलाई मोहोरमा परिणत गर्नेसम्म उल्लेख गरिएको छ ।
दक्षिण कोरिया सरकारले एक सय वटा सरसफाइको कार्यक्रममध्ये भरतपुर महानगरपालिकाको सरसफाइलाई पनि राखेको छ । ‘भरतपुर महानगरले फोहोर व्यवस्थापनको लागि अर्थ मन्त्रालयमार्फत कोरियासरकारसँग प्रस्ताव गरेको थियो, त्यो प्रस्ताव आज स्वीकृत भएर सम्झौता पनि भएको छ’ भरतपुर महानगर प्रमुख रेनु दाहालले भन्नुभयो, ‘अब फोहोर व्यवस्थापनको लागि डीपीआरको काम अघि बढ्छ ।’ उहाँका अनुसार भरतपुर महानगरले हालसम्म नगरको फोहोर अल्पकालीन रुपमा समाधान गरिरहेका थियो, तर अब फोहोर व्यवस्थापन दीर्घकालीन रुपमा हुनेछ ।

‘महानगरको फोहोर व्यवस्थापन गर्न मास्टर्स प्लानको लागि यो सम्झौता भएको हो’ सम्झौता कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले भन्नुभयो, ‘अरु बाँकी सम्झौता कामको सिलसिलामा हुँदै जान्छ ।’ महानगर प्रमुख दाहालले फोहोर व्यवस्थापन गर्न मास्टर्स प्लानको लागि मात्र ७ करोड सहयोग कोरिया सरकारबाट आएको बताउनुभयो ।
‘२०१९ मार्च आगामी आगामी फागुनबाट डीपीआरको काम सुरु हुन्छ, यो ठूलो योजना भएको हुनाले केही समय लाग्ने देखिन्छ’ महानगर प्रमुख दाहालले भन्नुभयो, ‘१० देखि १५ महिनाभित्र मास्टर्स प्लान सक्ने लक्ष्य लिएका छौँ, त्यसपछि कोरियासँग अरु सम्झौता गर्दै महानगरलाई स्वच्छ, सफा, हरियाली सहरको रुपमा विकास गर्ने योजना बनाएका छौँ ।

‘कोरिया सरकारले फोहोर व्यवस्थापनको योजना सुरुमा काठमाडौँमा गर्ने भनिए पनि महानगरको पहलमा भरतपुरमा ल्याउन सफल भयौँ’ प्रमुख रेनु दाहालले भनिन्, ‘देशको केन्द्रभागमा रहेको भरतपुरमा फोहोर व्यवस्थापनसँगै स्मार्ट सिटीको अवधारणाले पनि सार्थकता पाउँदै जानेछ ।’
महानगर प्रमुख रेनु दाहालका अनुसार २ देखि ३ वर्षभित्र महानगरको फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधान हुनेछ ।
एमओयूमा हस्ताक्षरपछि रिपल्लिक अफ कोरियाका प्रेसिडेन्ट सियो जुओनले नेपालको फोहोर व्यवस्थापनमा कोरिया सरकारको चासो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरुमा हामी फोहोर व्यवस्थापनको मास्टर्स प्लान गर्नेछौँ, आजको सम्झौता यही हो । पछि अरु सम्झौता गर्दै अघि बढ्नेछौँ ।’ प्रिसिडेन्ट सियो जुओनले भरतपुर महानगरको दुई पटक अध्ययन गरी आज सम्झौता गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले फोहोरमैला व्यवस्थापनमा जानेको सीप नेपालको भरतपुर महानगरपालिकामा पनि खर्चनेछौँ, हामी अहिले २ करोड ५० लाख जनसंख्याको फोहोर मैला व्यवस्थापन गरिरहेका छौँ ।’ उहाँका अनुसार भरतपुर महानगर र दक्षिण कोरियाको रिपव्लिक कम्पनी फोहोरमैला व्यवस्थापनमा सँगसँगै अघि बढ्नेछौँ र भरतपुर महानगरलाई सरसफाइयुक्त सहर बनाउनेछौँ ।
महानगर प्रमुख रेनु दाहालले फोहोर व्यवस्थापनमा भएको यो सम्झौताले थप उर्जा मिलेको र स्मार्ट सिटीको अवधारणालाई साकार पार्ने बताउनुभयो । उहाँले अटोल्याण्ड, रंगशाला, सिटीहल, ल्यान्डफिलसाइटलगायतका काममा महानगर अघि बढिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस