मध्यरातमा ओली निवास पुगेकी थिइन् कांग्रेस मन्त्री गुरुङ

सफल खबर संवाददाता

सोमबार, २१ फागुन २०८०, ११ : ५७
मध्यरातमा ओली निवास पुगेकी थिइन् कांग्रेस मन्त्री गुरुङ

काठमाडौं। सत्ता गठबन्धन टुट्ने परिस्थिति बन्दै गर्दा आइतबार मध्यरातमा कांग्रेसकी एक मन्त्री एमाले अध्यक्ष केपी ओलीलाई भेट्न भक्तपुरस्थित बालकोट पुगेकी थिइन् । समीकरण बदल्ने गरी प्रधानमन्त्रीसँग ओलीले निर्णायक वार्ता गरिरहेका बेला सहरी विकास मन्त्री सीता गुरुङ ओलीलाई भेट्न पुगेकी हुन् ।

नयाँ समीकरण बनिरहेका बेला देउवा निकटकी मन्त्री गुरुङ ओली निवास पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । तर, ओली निकट स्रोतले भने उनी झापामा बनेको विजनेस टावर उद्घाटनको लागि निम्तो लिएर मध्यरातमा बालकोट आएको दाबी गर्‍यो ।

‘मध्यरातमा देउवाको सन्देश बोकेर कांग्रेसकी मन्त्री बालकोट आएको चर्चा गरियो । तर, त्यस्तो होइन,’ ओली निकट स्रोतले भन्यो, ‘उहाँ साढे ९ बजेतिर बालकोट आउनुभएको थियो । तर, झापामा बनेको टावरको उद्घाटनको कुरा गर्न आउनुभएको हो ।’

एमालेले भ्यु टावर मात्रै नभई त्यसलाई धेरै प्रयोजनको लागि प्रयोग गर्न सकिने बताउँदै आएको छ । सत्ता गठबन्धनमा खटपट आइरहेका बेला रातिको समयमा देउवा निकटकी गुरुङ यसरी पुग्नुलाई कांग्रेस र एमाले मिलेर जानुपर्छ भन्ने सन्देश हो कि भन्ने पनि केहीले आकलन गरेका छन् ।

आज गत वर्षको पुस १० गते बनेकै एमाले, माओवादी, रास्वपा र जसपाको सरकार बन्न लागेको हो । आजै ४ सांसदले विना विभागीय मन्त्रीका रूपमा सपथ लिँदैछन्।

प्रतिक्रिया दिनुहोस