सेवा प्रवाहका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिऔं : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, २० फागुन २०८०, ११ : १५
सेवा प्रवाहका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिऔं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेवा प्रवाहका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’विषयक वैज्ञानिक सम्मेलनलाई आज सम्बोधन गर्दै उनले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताएका हुन्।

सरकारले हाल उदयीमान प्रविधिको क्षेत्रमा विभिन्न अध्ययन र अनुसन्धानका कामहरू अगाडि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान प्रविधि क्षेत्रलाई महत्त्व दिएर नै विज्ञान प्रविधि नवप्रवर्तन कोष निर्माणका लागि बजेट विनियोजन गरिएको बताए। 

‘सरकारले कम्प्युटर प्रविधि, रोवोटिक प्रविधि, डाटा विज्ञान, मेशिन लर्निङ्ग, इन्टरनेट अफ थिङ्गस, कम्प्युटेशनल पूर्वाधार विकासका लागि आफ्नोतर्फबाट गर्नुपर्ने कार्यमा आवश्यक पहल लिनेछ,’प्रचण्डले भने, ‘यसका लागि कृत्रिम बौद्धिकतासम्वन्धी नीतिलाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ तथा डिजिटल नेपाल फ्रेमवर्क, २०१९ सँग समन्वय गर्नेगरी अगाडि बढिनेछ।’ 

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तावमा समेत विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई विशेष महत्त्व दिइने उल्लेख गरे। नवप्रवर्तन र उत्पादकत्व वृद्धिको सवालमा आगामी वर्षदेखि नै सरकारी निकायहरूले कृत्रिम बौद्धिकताको भूमिका बढाउने परियोजनाको विकासमा जोड दिइने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सरकारी निकायले दिने सेवाको जानकारीका लागि कृत्रिम बौद्धिकतामा आधारित च्याटबट सेवा, वृहत तथ्याङ्कीय विश्लेषणका परियोजनाहरूलाई प्राथमिकतापूर्वक कार्यान्वयन गरिने स्पष्ट पारे।
 
सूचना-प्रविधि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग हो

प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बताए। ‘आजको परिस्थितिमा देशको सार्वभौमिकता, अखण्डता, सम्प्रभुता, आन्तरिक एकता र सद्भाव जस्ता पक्षहरूको केन्द्रमा सूचना प्रविधि आएको छ,’उनले भने, ‘देशभित्रै सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाले नै देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने ठाउँमा सिङ्गो विश्व आइपुगेको तथ्य हामीले हेक्का राख्नै पर्छ।’ 

प्रधानमन्त्री प्रचण्डले साइबर सुरक्षा, नैतिक दुविधा, सामाजिक विग्रह, निर्भरता र स्वायत्तता, आदिका कारणले समाजमा थप असमानताहरू थपिन सक्ने जोखिम औंल्याए। 

प्रतिक्रिया दिनुहोस