भरतपुरमा ठाउँठाउँबाट निस्किए र्‍याली, नारायणी किनारमा भ्रमण वर्ष उद्घाटन कार्यक्रम सुरु

सफल खबर संवाददाता

शुक्रबार, १८ फागुन २०८०, १३ : ५३
भरतपुरमा ठाउँठाउँबाट निस्किए र्‍याली, नारायणी किनारमा भ्रमण वर्ष उद्घाटन कार्यक्रम सुरु

चितवन। भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन अघि भरतपुरका विभिन्न स्थानबाट विविध झाँकीसहितको र्‍याली निस्किएका छन् ।महानगरको आव्हानसँगै भरतपुर महानगरका २९ वटै वडाका संघसंस्था, वडा, टोल विकास संस्था, विद्यालय र क्याम्पसबाट विविद्य सांस्कृतिक झाँकीसहित र्‍याली निकालिएको हो ।पूर्व–पश्चिम राजमार्ग केन्द्रित गरेर र्‍याली निस्किएपछि भरतपुरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

बिहान ११ बजेदेखि र्‍याली सुरु भएको छ ।वडा नं ६, ८, ९, १३, २१, २२, २३ र २४ को र्‍याली हाकिमचोकबाट, वडा नं ५, ७, १४, १५, १८, १९, २०, २५, २६, २७ र २८ को र्‍याली त्रिचोक र वडा नं १०, ११, १२ र २९ को र्‍याली गेष्टहाउस चौरबाट सुरु भएर चौविसकोठीमा जोडिँदै नारायणी नदी किनारमा पुगेको छ ।

त्यस्तै, वडा नं १ र २ को र्‍याली क्याम्पा चौरबाट सुरु भएर बालकुमारी रोड हुँदै लायन्सचोक निस्किएर नदी किनारतर्फ लागेको छ भने वडा नं ३, ४, १६ र १७ को र्‍याली  बेलचोकबाट सुरु भएर संगम रोड हुँदै सहिद चोक निस्किएर उद्घाटन स्थल पुगेको छ । र्‍यालीले बाटो क्रस गर्दा केहि समय सडक ठाउँठाउँमा अवरुद्ध भएको छ ।

उकृष्ट  र्‍याली सहभागी वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कारको व्यवस्था गरिएको छ । र्‍यालीमा सहभागीहरुले प्रस्तुत गर्ने भेषभुषा, रिजीरिवाज, झाँकी, बाजागाजा, अनुशासनको आधारमा मूल्यांकन समितिले नतिजा निकाल्ने जनाइएको छ ।

प्रथम, द्धितिय र तृतिय हुने वडाको ¥यालीले क्रमशः रु १ लाख, ७५ हजार र ५० हजार जिन्सी पुरस्कार प्राप्त गर्ने महानगरपालिकाले जनाएको छ । र्‍यालीमा सबैभन्दा धेरै संख्यामा सहभागिता जनाउने वडाले मूल्याङ्कन धेरै अंक प्राप्त गर्ने छन् । यस्तै र्‍यालीमा अपनाईएको संस्कृति, भेषभुषा, अनुशासनलगायतका विषयमा मूल्याङ्कन समितिले अंक दिनेछ ।

उत्कृष्ट र्‍यालीलाई कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार र प्रमाण–पत्र प्रदान गर्ने छन् । यस्तै उत्कृष्ट  र्‍याली प्रस्तुत गर्ने ३ विद्यालयका विद्यार्थी समुहलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट  र्‍याली प्रर्दशन गर्ने विद्यार्थी समूहलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार राशी रहेको छ ।

उद्घाटन समारोहमा उत्कृष्ट प्रर्दशन गर्ने जातिय झाँकी, वडाको पहिचान, संस्थागत, सहकारी र समूहले रु २० हजार, १५ हजार र १० हजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको छ । महानगरपालिकाले र्‍यालीको व्यवस्थापन गर्न वडागत अध्यक्षलाई जिम्मेवारी यसअघि नै जिम्मेवारी तोकिसकेको छ ।

¥यालीमा प्रयोग हुने व्यानरको आकार एउटै हुने पर्नेछ । महानगरका अनुसार ब्यानरको साईज ७ मिटर चौडाई र ३ मिटर उचाईको हुनुपर्ने छ । सहभागिले आफ्नो फोहोर आफैले व्यवस्थापन गर्नुपर्ने छ ।

भरतपुर भ्रमण वर्ष २०२४ लाई भव्य बनाउन नारायणी किनारमा ५० हजारभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस