आगामी वर्षको सिद्धान्त र प्राथमिकतामा नयाँ केही आएन : सांसद दाहाल

सफल खबर संवाददाता

विहीबार, १७ फागुन २०८०, १६ : ३६
आगामी वर्षको सिद्धान्त र प्राथमिकतामा नयाँ केही आएन : सांसद दाहाल

काठमाडौँ । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामा नयाँ कार्यक्रमहरू नभएको बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै दाहालले सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता गत वर्षको कपि पेस्ट जस्तो मात्र लाग्ने बताएका हुन् ।

दाहालले सिद्धान्त र प्राथमिकतामा नयाँ भिजनका केही पनि कार्यक्रम नभएको बताए । उनले भने, ‘के सरकारले प्रस्तुत गरेका सिद्धान्त र प्राथमिकताको बारेमा सांसदहरूले सघन छलफल गर्न पाउलान् ? यो प्रश्न कायम नै छ ।

के सांसदहरूले राखेका विषयले स्थान पाउला ? के सिद्धान्त र प्राथमिकताको आधारमा नै बजेट बन्छ की बन्दैन ? यो परम्परागत भन्दा भिन्न छ होला ? गठबन्धनका मन्त्री, पहुँचवाला सांसदभन्दा माथि उठेर प्राथमिकता र सिद्धान्तअनुसार बजेट आउला ? यसको लागि के सरकारको नीति तथा कार्यक्रमले यी सबै विषयलाई समेट्न सक्ला ? के यसले आजका अर्थतन्त्रमा देखिएका चुनौतीको सामना गर्न सक्छ ? के यसले लघुवित्त र सहकारी पीडितहरूको समस्या समाधान गर्न सक्छ ?’

उनले सिद्धान्त र प्राथमिकतामा लघुवित्त र सहकारी पीडितहरूको समस्या तथा मिटरब्याजी पीडितका समस्याहरू समाधानका लागि कुनै पहल गर्न नभएको बताए ।  ‘आज उहाँहरू सडकमा हुनुहुन्छ । यो सिद्धान्त र प्राथमिकता पेस गर्दै गर्दा भोलि आउने बजेटले यी सबै कुरालाई समेट्न सक्छ की सक्दैन । यी सबै प्रश्नहरू प्रश्नकै घेराभित्र छन् ।

सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता गत वर्षको कपि पेस्ट जस्तो मात्र लाग्छ । नयाँ भिजनका साथ केही कार्यक्रम देखिँदैन । देशको समृद्धि सम्बन्धित व्यवस्थित योजना देखिँदैन, अर्थतन्त्रका आजका समस्या र समग्र देशका समस्या समाधान गर्ने ल्याकत यसले बोकेको देखिँदैन,’ दाहालले भने ।

प्रतिक्रिया दिनुहोस