भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनका लागि प्रचण्डसहित पाँच पूर्वप्रधानमन्त्री चितवन आउँदै

सफल खबर संवाददाता

विहीबार, १७ फागुन २०८०, १२ : २१
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनका लागि प्रचण्डसहित पाँच पूर्वप्रधानमन्त्री चितवन आउँदै

चितवन। भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को भोलि औपचारीक रुपमा उद्घाटन गरिँदै छ।नारायणी नदी किनारमा भव्य कार्यक्रम गरेर उद्घाटन हुने भ्रमण वर्ष २०२४ को उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै चितवन आउँदै छन् ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने भएका छन् ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी पनि भोलि नै आउने कार्यक्रम तय भएको भरतपुर महानगरपालिकाका सञ्चार विज्ञ सुरेशचन्द्र अधिकारीले जानकारी दिए । तर, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने आजै चितवन आउने कार्यक्रम छ ।

उनका अनुसार उद्घाटन कार्यक्रममा सबै जनालाई पूर्वप्रधानमन्त्रीको हैसियतमा निमन्त्रणा गरिएको भएपनि पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराइले भने सहभागी हुन नसक्ने जानकारी दिएको उनले बताए ।

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा करिब ५० हजार जना उपस्थित हुने महानगरको अनुमान छ । उद्घाटनअघि भरतपुरको चौविसकोठीबाट नारायणी नदी किनारसम्म विशाल र्‍याली निकालिँदै छ ।

भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन महानगरले उच्च पदस्थ व्यक्तिहरुलाई निमन्त्रणा गरेको जनाएको छ । भ्रमण वर्षमा पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्राउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस