डा.शशांक कोइरालाको चियापानमा देउवाको धन्यवाद

सफल खबर संवाददाता

शनिबार, १२ फागुन २०८०, १२ : ३२
डा.शशांक कोइरालाको चियापानमा देउवाको धन्यवाद

काठमाडौँ । नेपाली कांग्रेसका महासमिति सदस्यहरूको सम्मानमा पूर्व महामन्त्री डा.शशांक कोइरालाले शनिबार राजधानीमा चियापान आयोजना गरेका छन् । चियापानमा पार्टी सभापति शेरबहादुर देउवा, कृष्ण सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह गोपालमान श्रेष्ठ, महामन्त्रीहरू गगन थापा र विश्व प्रकाश शर्मालगायतका नेता तथा कार्यकर्ताहरूको बाक्लो जमघट भयो ।

चियापानमा छोटो मन्तव्य दिंदै डा. कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि लाने बताए । मुलुकको भविष्य नेपाली कांग्रेससँग भएको जिकिर गर्दै उनले  देशको भविष्य कांग्रेससँग भएकाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।

महासमिति सदस्यहहरूलाई उत्साह बोकेर फर्कन भन्दै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो दल बनाउन अनुरोध गरे ।  कांग्रेस एकढिक्का भए यसलाई कुनै शक्तिले हराउन नसक्ने उनको दाबी छ ।

“विपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि सङ्घर्ष गर्नुभएको थियो, उहाँले जस्तो दुःख हामीले पाएका छौ ? तसर्थ उहाँको सङ्घर्षलाई कांग्रेसले भुल्नुहुँदैन”, उनले भने । उनले संघर्ष गर्न सिक्नुपर्नेमा जोड दिए ।

चियापानमा धन्यवाद दिन सभापति देउवालाई भनिएको थियो । तर देउवाले बसेको आसनबाटै धन्यवाद दिएको कांग्रेस सङ्खुवासभाका सभापति एवं सांसद दीपक खड्काले सुनाए । स्वागत भने खडकाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस