किसान आन्दोलनमा मारिएका युवाका परिवारलाई पञ्जाब सरकारले एक करोड दिने

सफल खबर संवाददाता

शुक्रबार, ११ फागुन २०८०, १३ : ०४
किसान आन्दोलनमा मारिएका युवाका परिवारलाई पञ्जाब सरकारले एक करोड दिने

काठमाडौं। भारतको किसान आन्दोलनमा मारिएका युवाका परिवारलाई पञ्जाब सरकारले एक करोड रुपैयाँ र सरकारी जागिर दिने भएको छ । पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले किसान आन्दोलनका क्रममा खनौरी सीमामा मारिएका युवकका परिवारलाई १ करोड रुपैयाँ र बहिनीलाई सरकारी जागिर दिने घोषणा गरेका हुन् ।

‘खनौरी सीमामा किसान आन्दोलनका क्रममा शहीद भएका शुभकरन सिंहको परिवारलाई पञ्जाब सरकारले १ करोड रुपैयाँ आर्थिक सहयोग र कान्छी बहिनीलाई सरकारी जागिर दिनेछ,' सीएम भगवन्त मानले ट्वीटरमा लेखेका छन्, 'दोषीलाई उचित कानुनी कारबाही गरिनेछ । हामी आफ्नो कर्तव्य पूरा गरिरहेका छौं।'

बुधबार खनौरी नाकामा किसान र सुरक्षाकर्मीबीच भिडन्त हुँदा युवा किसान शुभकरन सिंहको मृत्यु भएको थियो । गोली लागेर शुभकरनको मृत्यु भएको किसान नेताहरूको दाबी छ । तर, प्रहरीले भने मृत्युको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

उनको मृत्युपछि किसान संगठन संयुक्त किसान मोर्चाले आज (२३ फेब्रअरी) ‘ब्ल्याक फ्राइडे’ मनाउने घोषणा गरेका छन् । उनीहरूले २३ फेब्रअरीमा सबै राजमार्गमा ट्रयाक्टर र्‍याली निकाल्ने योजना बनाएका छन् । 

विभिन्न माग राख्दै भारतमा किसान आन्दोलन जारी छ । हालसम्म केन्द्र सरकार र आन्दोलनरत किसानबीच कुनै सहमति भएको छैन ।

प्रतिक्रिया दिनुहोस