सन्दीप लामिछानेको मुद्दा दर्ता

सफल खबर संवाददाता

विहीबार, १० फागुन २०८०, १८ : ४०
सन्दीप लामिछानेको मुद्दा दर्ता

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन बोकेर बिहीबार उच्च अदालत पाटन पुगेका छन् । अदालतमा उनको पुनरावेदन मुद्दा दर्ता भएको छ । 

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ अनुसार थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने गरी मुद्दा दर्ता भएको हो । उच्च अदालत पाटनका रजिस्ट्रार जस्ता मानबहादुर कार्कीले सन्दीपलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ को सुविधा दिइएको जानकारी दिए । 

काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको थियो । यसैगरी बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि फैसला भएको थियो । 

तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका लामिछानेविरुद्ध  जबरजस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो भने असोज २० मा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । 

आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख थियो । सोही जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । 

यस्तै भदौ २३ मा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो । उनीविरुद्ध पुस २४ मा कैद सजाय तोकिएको थियो ।