कांग्रेस महासमिति बैठकमा प्रेस युनियनको संस्थागत सहभागिता नहुने

सफल खबर संवाददाता

सोमबार, ०७ फागुन २०८०, १४ : ०२
कांग्रेस महासमिति बैठकमा प्रेस युनियनको संस्थागत सहभागिता नहुने

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन संस्थागत रूपमा सहभागी नहुने भएको छ । युनियनका अध्यक्ष शिव लम्सालले लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै महासमिति बैठकमा उपस्थित नहुने जनाएका छन् ।

अध्यक्ष लम्सालले विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय निर्वाचन समितिले विधानको अपव्याख्या गरी गरेको निर्णयले प्रेस युनियन र काङ्ग्रेसबिचको शुभेच्छुक सम्बन्धलाई बिथोल्न चाहनेहरूलाई बल पुगेको बताएका छन् ।

‘कांग्रेसको महासमिति बैठकका सन्दर्भमा नेपाल प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरूमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’,

लम्सालले भनेका छन्, ‘नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मूल्यको समेत प्रवाह नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्वबारे अप्रासङ्गिक र अनधिकृत निर्णय गरिएकोप्रति युनियनको गम्भीर आपत्ति छ ।

’युनियनले निर्वाचन समितिको अक्षमता र विधानको गलत व्याख्या गरी गरिएको निर्णयप्रति भर्त्सना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस