कारागारलाई सिकाइको केन्द्रका रुपमा लिनुपर्छ : मुख्यमन्त्री कार्की

सफल खबर संवाददाता

आइतबार, २८ माघ २०८०, १४ : २०
कारागारलाई सिकाइको केन्द्रका रुपमा लिनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कारागारलाई सुधार र सिकाइको केन्द्रका रुपमा लिनुपर्ने बताएका छन् ।जिल्ला कारागार मोरङद्वारा आज कारागार परिसरमा आयोजित ‘डवल डेकर’ (खाट) कैदीबन्दीलाई हस्तान्तरण गर्दै उनले यहाँबाट सिकेको ज्ञान र सीपलाई समाज रुपान्तरण र सुधारमा प्रयोग गर्न कैदीबन्दीलाई सुझाव दिए।

मुख्यमन्त्री कार्कीले सरकारले कारागारमा दिने परम्परागत सीपलाई आधुनिकीकरण गर्न प्राविधिक अध्ययन गरिरहेको बताए । साथै बन्दीद्वारा उत्पादित सामग्रीको बजारीकरण तथा पहुँच विस्तार गरिने उनको भनाइ थियो ।

उनले बन्दीहरूको मानव अधिकारको संरक्षण, स्वास्थ्य सेवा, कानूनी सहायताका सम्बन्धमा प्रदेश सरकारले चाँडै अवधारणा ल्याउने तयारी गरिरहेको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले कारागारलाई होस्टलका रुपमा सम्झन आग्रह गर्दै यहाँबाट सिकेका सीपलाई साना उद्यमीका रुपमा विकास गर्नुपर्ने भन्दै आवश्यक पूँजीको व्यवस्थाका लागि सरकारले सहजीकरण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस