भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउँछ : राष्ट्रपति पौडेल

सफल खबर संवाददाता

आइतबार, २८ माघ २०८०, १० : ४४
भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउने बताएका छन् । उनले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा हरेक वर्ष बेरुजू बढ्दै जानु दुःखद भएको भन्दै त्यस्तो विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्ने बताए ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको बताए ।

‘आर्थिक समृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त हो । हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता, संवैधानिक दायित्व र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको मूल्यमान्यताका अनुरूप सबैले आफ्नो जीवनशैलीलाई सरल, इमानदार र पारदर्शी बनाउन आवश्यक छ,’ उनले भने ।

राष्ट्रपति पौडेलले अख्तियारले साना प्रकृतिका कसुरदारलाई मात्रै प्राथमिकतामा राखेको र ठुलो भ्रष्टाचारमा मुछिएकाहरू भने उम्किरहेको भन्ने नागरिकको गुनासो सम्बोधन हुने गरी काम गर्न आग्रह गरे । भ्रष्ट प्रवृत्तिले मुलुकको विकास मात्रै नरोकिएर बरु नैतिक धरातल नै गिरेर जाने उनको भनाइ छ ।

‘भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको उन्नतिमा अवरोध सिर्जना गर्ने मात्रै होइन, राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउन सक्छ । तसर्थ भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो प्रस्थान विन्दु हो,’ उनले भने,  ‘शासन प्रणाली जति पारदर्शी र जवाफदेही हुन्छ, भ्रष्टाचारको सम्भावना त्यति नै कम हुन्छ ।’ उनले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि ठोस् कदम चाल्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस