पाकिस्तानमा निर्वाचनको पूर्वसन्ध्याः उमेदवारको कार्यालय बाहिर विस्फोट, कम्तीमा १२ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २४ माघ २०८०, १६ : ४३
पाकिस्तानमा निर्वाचनको पूर्वसन्ध्याः उमेदवारको कार्यालय बाहिर विस्फोट, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं। क्वेटादक्षिण–पश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधवार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।

क्वेटा शहरबाट करिब ५० किलोमिटर टाढा र अफगानिस्तानसँगको सीमाबाट करिब १०० किलोमिटर टाढा रहेको पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालय नजिकै आक्रमण भएको थियो ।क्वेटाका एक प्रहरी अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भने, ‘१२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।’

मोटरसाइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखिएको उनले बताएका छन् ।प्रान्तका कार्यवाहक सूचनामन्त्री जान अचकजाईले मृतकको सङ्ख्या पुष्टि गर्दै भने, ‘यो विस्फोटमा १२ जनाको मृत्यु भएको छ र २५ भन्दा बढी घाइते भएका छन् ।’

निर्वाचनका लागि ५० लाखभन्दा बढी सुरक्षाकर्मी बुधवारदेखि तैनाथ हुन थालेका छन् भने ९० हजारभन्दा बढी मतदान केन्द्रमा मतपत्र वितरण गरिएको छ ।सन् २०१८ को चुनावपछि स्थापित बहुमतको सरकारका प्रधानमन्त्री इमरान खानलाई चार बर्षपछि अविश्वासको प्रस्तावमार्फत् सत्ताबाट पदच्युत गरिएको थियो ।

पाकिस्तानी प्रधानमन्त्रीबाट हटाइएका र हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तथा नेताहरूलाई विभिन्न अभियोग लगाउँदै निर्वाचनमा सहभागी हुनबाट रोक लगाइएको छ । 

बिहीवारको मतदानको दौडान धेरै सुरक्षा घटनाहरू पनि भएका छन्, जसमा कम्तीमा दुई उम्मेदवारहरूको गोली हानी हत्या भएको छ र दर्जनौंलाई देशभरि आक्रमणहरूमा निशाना बनाइएको छ ।स्थानीय समयअनुसार बिहीवार बिहान ८ बजे मतदान शुरू भई साँझ ५ बजे मतदान सम्पन्न हुनेछ ।

लाहोरमा, निर्वाचन अधिकारीहरूको एक समूहले प्रहरीको साथमा मतदान सामग्रीहरूको बोराहरू केन्द्रीय वितरण केन्द्रबाट उनीहरूको मतदान केन्द्रहरूमा लैजानको लागि सङ्कलन गरेको देखिएको थियो ।

‘निर्वाचन आयोगले आफ्नो एप स्थापना गरेको छ र अन्य निर्वाचनलाई व्यवस्थित गर्न उपायहरू अपनाएको छ,’ मतदान सामग्री सङ्कलन गर्ने इलेक्ट्रोनिक जाँचलाई सङ्केत गर्दै मोहम्मद बकिरले भने, ‘काम सहज रुपमा भइरहेको छ ।’

करिब २४ करोड जनसङ्ख्या भएको विश्वको पाँचौं ठूलो देशमा करिब १२ करोड ८० लाख मतदाताले मतदान गर्न पाउनेछन् ।राष्ट्रिय र चारवटा प्रान्तीय सभाका लागि करिब १८ हजार उम्मेदवार चुनावी मैदानमा छन्, जसमा २६६ सिटमा प्रत्यक्ष प्रतिस्पर्धा भएको छ ।

यसमध्ये महिला र अल्पसङ्ख्यकका लागि थप ७० र क्षेत्रीय संसद्मा ७४९ स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ ।सिन्ध प्रान्तका प्रहरी प्रमुख रफत मुख्तारले बुधवार कराँचीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले हरेक तहमा सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्छ ।’