नेपालगन्जको पर्यटन प्रबर्द्धन गर्न साइकल यात्रा

सफल खबर संवाददाता

शुक्रबार, १९ माघ २०८०, १२ : ०५
नेपालगन्जको पर्यटन प्रबर्द्धन गर्न साइकल यात्रा

नेपालगञ्ज। बाँके र बर्दियामा पर्यटन प्रबर्द्धन गर्न नेपालगन्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा गरिने भएको छ ।​​​​नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब तीन सय साइकल यात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा पुग्ने क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए ।

उनका अनुसार यही माघ २५, २६ र २७ गते हुने नेपालगन्ज साइकल महोत्सवअन्तर्गत ‘टुर दि ठाकुरद्वारा’ र ‘नेपालगन्ज किड्स रेस’को पनि आयोजना गरिएको छ ।

साइकल यात्राका लागि रुट र त्यसमा आवश्यक पर्ने सबैखालको समन्वय गरिसकेको जनाउँदै अध्यक्ष सापकोटाले ‘टुर दि ठाकुरद्वारा’मा अन्तरप्रदेश साइकल यात्री र अन्तर्राष्ट्रिय साइकल यात्रीसँगै स्थानीय साइकल यात्री पनि सहभागी हुने बताए ।

 

 

‘साइक्लिङलाई हाम्रो संस्कृति र पर्यटनसँग जोडेर काम गर्ने हाम्रो मुख्य उद्देश्य हो, यस क्षेत्रमा सुरक्षित साइकल यात्रा र शहरमा साइकल लेनको विस्तारका लागि दबाब दिन पनि यस कार्यक्रमले सहयोग पुग्ने छ', क्लबका पूर्व अध्यक्ष सतिश निरौलाले भने ।

पर्यावरण मैत्रीरुपले पर्यटन र संस्कृतिको संरक्षण गर्नु ‘टुर दि ठाकुरद्वारा’ साइकल यात्राको उद्देश्य रहेको उनको भनाइ छ । 'यस क्षेत्रलाई प्रबर्द्धन गर्ने र पर्यावरण पर्यटनको विकासमा टेवा पुर्‍याउने उद्देश्यले नेपालगन्ज साइक्लिङ क्लबले यो कार्यक्रम गरिरहेको छ', निरौलाले भने, 'साइकल यात्रीलाई स्थानीय पर्यटकीय गन्तव्य घुमाउने, स्थानीय परिकार चखाउने र स्थानीय संस्कृतिसँग साक्षात्कार गराउने योजना रहेको छ ।'

क्लबले कार्यक्रममा देशभर र भारतीय शहरबाट समेत गरी तीन सय साइकल यात्री सहभागी हुने जनाएको छ ।

कार्यक्रम नेपालगन्जको वागेश्वरी मन्दिरबाट शुरू भई बाँके र बर्दियाका विभिन्न पर्यटकीय गन्तव्य छिचोल्दै बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारासम्म एक सय किलोमिटर साइकल यात्रा पूरा गर्ने क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्रद्वीप कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस