काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसालले मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन्। बिहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अर्ध वार्षिक प्रगति समीक्षालाई सम्बोधन गर्दै मन्त्री भुसालले लामो समय देखि थन्किएका मोबाइल ल्याब भ्यानलाई तत्काल सञ्चालन गर्न निर्देशन दिएका हुन्।
खाद्यवस्तुको वस्तुको गुणस्तर परीक्षणका लागि झन्डै २४ करोड रुपैयाँ खर्चेर किनिएका भ्यानहरूमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्धा दायर गरेसँगै प्रयोगविहीन अवस्थामा रहेका थिए । मोबाइल भ्यान सञ्चालन गर्नुपर्ने भन्दै कड्किएका मन्त्री भुसालले भने, ‘तेस्रो पटक भन्दैछु, मोबाइल भ्यान तत्काल सञ्चालन गर्नुस्। यो भ्यान कुनै पनि तरिकाले सञ्चालन गर्नुपर्ने छ। चलाउन नसके हात उठाऔँ, अर्को व्यवस्था हुन्छ, नत्र जसरी हुन्छ चलाउऔं। राम्रो काम गर्दा चुनौती आए सामना गर्न तयार हुनुपर्छ, डराउन पर्दैन।’
चलाउन नसक्ने भए किन चलाउन नसकिने आधार प्रस्तुत गर्न पनि मन्त्री भुसालको निर्देशन छ । मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै गत वर्ष पनि मोबाइल भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिएका मन्त्री भुसालले शुक्रबार मोबाइल भ्यान सञ्चालनका लागि मन्त्रालयमा मन्त्रीसहित मन्त्रालयका सचिव, सहसचिव, विभागका महानिर्देशकसहितको छलफल आह्वान समेत गरेका छन् ।
करोडौँ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका तत्कालीन महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ माघ २०८०, १८ : ४६
लेखकबाट थप