संसद्‌लाई ‘बिजनेश’ दिन प्रधानमन्त्री प्रचण्डले गरे कानून मन्त्रालयसँग छलफल

सफल खबर संवाददाता

मंगलबार, १६ माघ २०८०, १३ : ३८
संसद्‌लाई ‘बिजनेश’ दिन प्रधानमन्त्री प्रचण्डले गरे कानून मन्त्रालयसँग छलफल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही माघ २२ गतेबाट प्रारम्भ हुने संसद्‌लाई ‘बिजनेश’ दिने विषयमा ​कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन् ।​​​

प्रधानमन्त्री प्रचण्डले मंगलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरूलाई बोलाएर आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूको तयारीबारे छलफल गरेका हुन् ।

अघिल्लो संसद् अधिवेशनले कानून निर्माणका प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला छलफलमा प्रधानमन्त्रीले संसद्‌लाई बिजनेश दिने र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका छन् ।

मन्त्रालयलाई निर्देशित गर्दै बैठकमा प्रधानमन्त्रीले भने, ‘अघिल्लो वर्ष संसद्‌ले कानून निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ। सरकारले पनि ‘बिजनेश’ दिएन भन्ने मत पनि छ। तर, यसपटक त्यस्तो नहोस्।’संसद् शुरू हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरी तयारी गर्न उनले निर्देशन दिएका छन् । 

‘संसद्‌ शुरू हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरी तयारी गरौं। मुख्यसचिवले फलोअप गर्नुहोला। मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला। राम्रो तयारी गर्नुहोला। यसपटक संसद्‌लाई व्यवस्थित रूपले बिजनेश दिनुपर्छ। त्यो गुनासो नआउने गरी काम गर्नुहोला।’

छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कानूनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद् पठाउनुपर्ने बताउँदै त्यसका लागि आवश्यक तयारी गर्न मन्त्रालयलाई निर्देशित गरे ।

बैठकमा मन्त्रालयका सचिव उदयराज सापकोटाले आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूका निम्ति मन्त्रालयले आवश्यक गृहकार्य गरेको बताउँदै यस अधिवेशन प्रारम्भ हुनेबित्तिकै केही ‘बिलहरू’ पेश गर्न सकिने गरी तयारी गरिएको बताए ।

सचिव सापकोटाले केही विधेयकहरू संसद् अधिवेशन प्रारम्भ भएलगत्तै संसद्‌मा दर्ता गर्न सकिने बताउँदै थप विधेयकका द्रूततापूर्वक काम गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस