देशका विभिन्न स्थानमा मोटरसाइकल दुर्घटना, चार जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १४ माघ २०८०, १३ : ५७
देशका विभिन्न स्थानमा मोटरसाइकल दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवन, दाङ, कास्की र धादिङ जिल्लामा भएका मोटरसाइकल दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

चितवन, भरतपुर महानगरपालिका-१६ शिबघाटस्थित सडकमा बा.प्र. ०३-००१ च ११९७ नम्बरको बलेरो गाडीले बा.प्र.०३-००३ प ८६२४ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४१ वर्षीय मधुसुदन खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङ, लमही नगरपालिका-३ मझगाउँस्थित सडकमा लु.२ ख ६३७ नम्बरको ट्रक र रा.७ प १४३२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ नर्ती बस्ने ३० वर्षीय सुदन जिसीको मृत्यु भएको   छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कास्की, रूपा गाउँपालिका-६ घिमिरेथरस्थित सडकमा ग.१४ प १५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सोही गाउँपालिका-७ माझगाउँ बस्ने ३० वर्षीया कृष्णमाया न्यौपानेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो ।धदिङ, गजुरी गाउँपालिका-६ जरेखेतस्थित सडकमा प्र.३-०३-००१ प २६३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८ मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक रोल्पा सुनिल स्मृति गाउँपालिका-१ घोडागढी बस्ने १९ वर्षीय विशाल केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।