काठमाडौँ महानगरमा पैदल मार्ग सुधार योजनाको अनुगमन

सफल खबर संवाददाता

आइतबार, १४ माघ २०८०, १२ : २८
काठमाडौँ महानगरमा पैदल मार्ग सुधार योजनाको अनुगमन

काठमाडौँ । सडक किनारालाई पैदल यात्रीमैत्री बनाउन विकास साझेदारले बनाएका पूर्वाधारलाई कसरी व्यवस्थापन गर्ने चुनौती देखिएको छ । बिजुलीका पोल, खानेपानीका पाइप, ढल निकासको मंगाल पैदल मार्गको बिचमै भएका कारण ब्लक राख्न नमिल्नु यस्का केही उदाहरण हुन् ।

शनिवार उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सदस्य बाबुराम भट्टराईसहित योजना, अनुगमन तथा मूल्याङ्कन एकाइका अधिकारीसहित सिनामंगल क्षेत्रमा अनुगमन गर्दा यस्तो अवस्था पाइएको हो ।

‘सहरलाई हिँड्ने संस्कृतिले चलायमान बनाउँछ । सवारी साधन सबैले प्रयोग गर्न नसक्न सक्छन् तर, पैदल मार्गमा सबैले हिँड्नु पर्छ । यसका लागि पैदल मार्गलाई सहज र पहुँचयुक्त बनाउने पर्नेछ ।’ उपप्रमुख डंगोलले भनिन्, ‘हामी लगानी गरिरहेका छौँ ।

सहरी सुविधा वितरणका लागि पूर्वाधार बनाउने अन्य निकायका संरचनाले पैदल मार्गमा बाधा सिर्जना गरेका छन् । यस्ता बाधा हुने संरचना सार्न वा हटाउन सम्बन्धित कार्यालयलाई पत्राचार गर्नुहोला ।’

यस सडक खण्डमा पहिले षट्कोण ब्लक राखिएको थियो । ठाउँ ठाउँमा ब्लक फुटेको, भासिएको, उप्किएका कारण हिँड्न कठिन थियो । यसलाई सुधार गर्दै मल्टिकलर ब्लक राखेर सुन्दर बनाइँदै छ । यति प्रयास गर्दा पनि कतिपय ठाउँमा व्हील चेयर गुडाउन सक्ने वातावरण बन्न सकेको छैन ।

बिजुली, खानेपानी, ढल निकास जस्ता संरचना बनाउँदा छुट्टाछुट्टै योजनाबाट काम भएकोले चौडाइ नपुगेर, पोल, खम्बा तथा मंगालजस्ता संरचना एकै ठाउँमा परेर यस्तो भएको हो । यस्ता साँघुरा ठाउँमा सम्भव भएसम्मका संरचना काटेर चौडाइ पु-याउने प्रयत्न गरिएको छ ।

अनुगमनका क्रममा तीनकुनेदेखि उत्तर गौशालासम्म चक्रपथ पश्चिमतर्फको २ किलोमिटर र सिनामंगल चोकदेखि पश्चिम भीमसेनगोला पुलसम्म ५ सय मिटर दुई तर्फ फुटपाथ निर्माण कार्य हेरिएको थियो । निर्माण थालनी हुँदै गरेको, निर्माण भइरहेको र सम्पन्न भएको सडक खण्डमा प्रयोग गरिएका निर्माण सामग्री, निर्माण विधि तथा तोकिएको मापदण्डको पालनालाई सूचक बनाएर अवस्था जाँच गरिएको थियो ।

अनुगमनका क्रममा आयोगका उपाध्यक्ष डा. राजभण्डारीले पैदल मार्गबाट दृष्टिविहीन व्यक्ति सजिलै गन्तव्यमा पुगुन् भन्ने रहेको बताए । निर्माणका क्रममा ब्रेल ब्लव राख्ने क्रममा केही त्रुटि देखिएको र यसलाई सुधार गर्नुपर्ने उनको भनाइ थियो ।  

फुटपाथको लम्बाइ ३ किलोमिटर छ । आयोजना निर्माणका लागि भ्याटसहित ६ करोड ५७ लाख रुपैयाँमा सम्झौता भएको छ । अनुगमनका क्रममा चौडाइ कम देखिएको १४ ठाउँमा र विभिन्न ७ ठाउँमा छापिएका ब्लक उप्काएर बेसको मोटाइ मिटर जाँच गरिएको थियो । तीनकुने गौशाला चक्रपथ चार लेनको सडक भएको र सिनामंगलदेखि भीमसेनगोला पुलसम्मको सडक दुई लेनको छ । दुई लेनको दायाँबायाँ बस्ती र बजार छ ।

अनुगमन गरिएको खण्डका ४ ठाउँमा सडकको बिचमै बिजुलीका पोल भेटिए । ढलको मंगाल भएका कारण १२ ठाउँमा ब्लक राख्न नमिल्ने अवस्था छ । ब्लक राख्ने क्रममा २ ठाउँमा डट ब्लक हाल्नुपर्ने ठाउँमा लेन ब्लक हालेको देखियो । यस्तै ४ ठाउँमा उपयुक्त विधिबाट डट ब्लक नराखेको देखियो । 

१० ठाउँमा घरधनीले स्लोप संरचना बनाएर सडक किनारासम्मका लगेको भेटियो । १ ठाउँमा खानेपानीको पाइप सडकमै देखियो । यस्ता संरचनाले पैदल यात्रुलाई ठेस लाग्ने, ठोकिने खतरा छ । फुटपाथको सतहभन्दा निकै तल घर संरचना रहेका ५ ठाउँमा पैदलयात्री खस्न सक्ने जोखिम देखिएको छ । रेलिङका रूपमा प्रयोग गरिएका फलामे डन्डी हल्लिएको अवस्थामा छन् । 

दुईतर्फी १ किलोमिटर सडक पेटीको ३५ ठाउँमा व्यक्तिगत घर संरचनाका कारण २ मिटर चौडाइ पुग्न सकेको छैन । अनुगमन गरिएको ठाउँमा हेर्दा करिब २० प्रतिशत ठाउँमा चौडाइ कम हुने देखिएको छ । यस्ता संरचनालाई बलियो जडान गर्न टोलीले निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस