केएनआईटी बुटवलका विद्यार्थीले बनाए ‘कम्प्रेसर मेसिन’

सफल खबर संवाददाता

शनिबार, १३ माघ २०८०, १४ : २४
केएनआईटी बुटवलका विद्यार्थीले बनाए ‘कम्प्रेसर मेसिन’

बुटवल। कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय (केएनआईटी) बुटवलमा अध्ययनरत विद्यार्थीहरूले ‘कम्प्रेसर मेसिन’ बनाएका छन् ।बुटवल तामनगरस्थित शिक्षालयमा अध्ययनरत ७ जना विद्यार्थीको समूहले नकुहिने फोहोरलाई ‘कम्प्रेस’ गरेर साइज घटाउने मेसिन तयार पारेका हुन् ।

 

विनोद पौडेल, अनुप घिमिरे, सम्राट बस्याल, सुवास पुरी, मनीष थारू, अमूल भट्टराई र सुशील चौधरीले १५ दिन लगाएर बनाएको मेसिन स्थानीय तहले किन्ने तयारी गरेको छ।यसअघि शिक्षालयका विद्यार्थीले टपरी बनाउने मेसिन पनि बनाएर विभिन्न ठाउँमा बिक्री गरिसकेका छन् । 

 

यस अघिका ‘प्रोजेक्ट’ सफल भएपछि यो नयाँ मेसिन बनाउन थालेको विद्यार्थी अनुप घिमिरेले बताए । अध्ययनका क्रममा सिकेको सीप र ज्ञानलाई प्रयोग गरेर मेसिन तयार पारिएको उनले बताए । 

शिक्षाको गाइड र टिमवर्कबाट मेसिन बनाउन सफल भएको अर्का विद्यार्थी विनोद पौडेलले बताए । 

विद्यार्थीहरूले प्रोजेक्टको प्राटिकलका रुपमा मेसिन बनाएको शिक्षालयका प्रमुख नवीनकिशोर गैरेले बताए । ‘यो मेसिनले नकुहिने फोहोरलाई कम्प्रेस गरेर फोहोरको भोल्युम घटाउने भएकाले फोहोर व्यवस्थापनमा यो अति नै उपयोगी हुनेछ’, उनले भने, ‘विद्यार्थीहहरूले प्राक्टिकलका रुपमा निर्माण गरेको यो पहिलो मेसिन हो भन्ने हाम्रो दाबी छ ।’

विद्यार्थीहरूले ११ लाख रुपैयाँको लागतमा १५० टन क्षमताको मेसिन तयार गरेका शिक्षालय प्रमुख गैरेले बताए । ‘संकलित फोहोरलाई मेसिनमा राखेर अन गरेपछि फोहोर खाँदिन थाल्छ । यसको क्षमता पूरा भएपछि आफैं आवाज दिन्छ’, उनले थपे ।

यो मेसिन पालिकाहरूलाई फोहोर व्यवस्थापनमा बढी उपयोगी हुने भएकाले विभिन्न पालिकाहरुसँग कुरा भइरहेको शिक्षालय प्रमुख गैरेले बताए । यसअघि यस्ता मेसिन भारतबाट आयात गर्दा २० देखि २५ लाख रुपैयाँसम्म पर्ने गरेकोमा अब कम मूल्यमा मेसिन उपलब्ध गराउन सकिने उनले जानकारी दिए ।

शिक्षालयका रोजगार शाखा प्रमुख निरज तिवारीले यहाँ अध्ययन गर्न आउने विद्यार्थीहरूले प्रोजेक्टका रुपमा समुदायमा आवश्यक पर्ने विभिन्न मेसिन निर्माण गर्दै आएको र सफल बनेको बताए ।

वि.सं. २०६९ सालदेखि ३ वर्षे डिप्लोमा तह बहुप्राविधिक तालिम सञ्चालन गर्दै आएको छ । प्राविधिक शिक्षामा उत्कृष्ट बनेको शिक्षालयमा अटोमोबाइल इन्जिनियरिङ्ग, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग, मेकानिकल इन्जिनियरिङ्ग, रेफ्रिजेरेसन एण्ड एअर कण्डिसन इन्जिनियरिङ्ग कोर्ष सञ्चालन छन् ।

प्रतिक्रिया दिनुहोस