आहा रारा गोल्डकपमा क्वाटरफाइनलका खेल हुँदै

सफल खबर संवाददाता

शनिबार, १३ माघ २०८०, १२ : ३७
आहा रारा गोल्डकपमा क्वाटरफाइनलका खेल हुँदै

काठमाडौं। पोखरामा जारी २३औं संस्करणको आहा रारा पोखरा गोल्डकपअन्तर्गत आजदेखि क्वाटरफाइनलमा खेल शुरू हुँदैछ । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल आज दिउँसो २ः३० बजे थ्रीस्टार क्लब र भुटानको पारो एफसीबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

 

पोखरा रङ्गशालामा भइरहेको प्रतियोगितामा भूटानको पारो एफसीसहित साविक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मर्स्याङ्दी, जावलाखेल युथक्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबले सहभागिता जनाएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।

प्रतियोगिताका विजेताले रू १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने उनले बताए ।प्रि–क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई जनही रू २०/२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रू ३०/३० हजार र सेमिफाइनल विजेता तथा पराजित दुवै टोलीलाई रू ५०/५० हजार प्रदान गरिने जनाइएको छ । 

प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ ।