सप्तरीमा जनमत पार्टी र प्रहरीबीच सामान्य झडप

सफल खबर संवाददाता

सोमबार, ०८ माघ २०८०, १५ : २६
सप्तरीमा जनमत पार्टी र प्रहरीबीच सामान्य झडप

जनकपुरधाम । सप्तरीमा जनमत पार्टी र प्रहरीबीच सामान्य झडप भएको छ । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।

सो क्रममा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएको जनमतका सचिव विपी साहले बताए । उनीहरुलाई प्रहरीको लाठी लागेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले भवन शिलान्यास कार्यक्रममा अवरोध गर्न खोजेपछि जनमतका नेता कार्यकर्तामाथि सामान्य बल प्रयोग गरेको बताए ।

जनमत पार्टीको विरोधकाबीच राजविराजमा मधेश कृषि विश्वविद्यालयको जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका छन् । राजविराज नगरपालिका- १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।  

प्रतिक्रिया दिनुहोस