प्रसिद्ध अमेरिकी ट्याटु कलाकार डिलन फोर्टले काठमाडौंमा ट्याटु चित्र बनाउने

सफल खबर संवाददाता

सोमबार, ०८ माघ २०८०, १२ : ५२
प्रसिद्ध अमेरिकी ट्याटु कलाकार डिलन फोर्टले काठमाडौंमा ट्याटु चित्र बनाउने

काठमाडौं । चर्चित अमेरिकी ट्याटु कलाकार डिलन फोर्ट ट्याटु चित्र बनाउन नेपाल आउने भएका छन् । अप्रिल ५ देखि ७ सम्म काठमाडौंमा आयोजना हुने ११ औं अन्तर्राष्ट्रिय नेपाल ट्याटु सम्मेलनमा उनको सहभागिता हुने भएको छ ।

ट्याटु कलाकार र उद्यमी समेत रहेका फोर्टले २०२४ को सुरुवातका लागि आफ्नो पहिलो दुई सम्मेलनमा उपस्थितिको घोषणा गरेका छन् । जसमा नेपालमा समेत उनको ‘लाइनअप’ छ । उनको यस वर्षको पहिलो कार्यक्रम नेपालमा हुनेछ ।

काठमाडौंमा हुने यो ट्याटु सम्मेलनलाई दक्षिण एसियाकै ठूलोमध्येको ट्याटु जमघट मानिन्छ । सम्मेलनको आयोजक नेपाल ट्याटु प्रालिले पनि ११ औं संस्करणको कार्यक्रम रुपरेखा सार्वजनिक गरेको छ ।

ट्याटु बनाउने कलालाई बढावा दिन, प्रतिभाशाली कलाकारलाई प्रवर्द्धन गर्न र सिर्जनाकर्ता, संकलनकर्ताबीच सौहार्द्धता बढाउन यो सम्मेलन प्रभावकारी हुने बताइएको छ । उक्त सम्मेलनमा फोर्टसँगै अन्य अन्तर्राष्ट्रिय ट्याटु कलाकारको समेत सहभागिता हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस