काठमाडौँ । नेपाली कांग्रेसको ‘समुदायसँग कांग्रेस’ अभियान फेरि सर्ने भएको छ । यही माघ ७ देखि २२ गतेका लागि तय भएको अभियान माघ १६ देखि २६ गते सार्न लागिएको हो । कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलबिच बिहीबार बिहान पार्टीको अभियान सार्ने विषयमा छलफल भएको थियो ।
गत कात्तिकमा समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने कांग्रेसको तयारी थियो । दसैँ– तिहार र जाजरकोट भूकम्पको कारण देखाउँदै पुस १५ मा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले माघ ७ देखि २२ सम्मका लागि अभियान तय गरेको थियो । माघ ११ मा हुने राष्ट्रिय निर्वाचनका कारण अभियान सार्न लागिएको मुख्यसचिव पौडेलले बताए ।
उनले भने, ‘राष्ट्रियसभा निर्वाचनका कारण अभियान केही दिन सर्ने भयो । अब माघ १६ गतेदेखि माघ २६ सम्मका लागि नयाँ मिति तोक्ने विषयमा छलफल भइरहेको छ ।’ उनका अनुसार कांग्रेसले अहिले ५९ जिल्लामा मात्र समुदायसँग कांग्रेस अभियान गर्न लागेको हो ।
कर्णाली प्रदेशका पाँच, गण्डकी प्रदेशका २ र कोशी प्रदेशको एक जिल्लामा अभियान हुने छैन । कालिकोट, डोल्पा, मुगु, हुम्ला, जुम्ला, मुस्ताङ, मनाङ र सोलुखुम्बुमा अभियान गर्न अहिले सम्भव नदेखिएको उनको भनाइ छ । ‘पार्टीका जिल्ला सभापतिहरूसँग कुरा गर्दा चिसोका कारण आठ वटा जिल्लामा अभियान गर्न सम्भव छैन भन्ने आयो । त्यही अनुसार ५९ जिल्लामा मात्र अभियान हुनेछ ।’
कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा बुधवार जिल्ला खटिने नेताहरूलाई अभिमुखीकरण दिएको थियो । अभियानमा सङ्गठन सुदृढीकरण, कार्यकर्ता तथा नागरिकका गुनासा र सुझाव लिन प्रतिनिधिलाई कार्यादेश दिने कांग्रेसको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ माघ २०८०, १४ : ५२
लेखकबाट थप