काठमाडौं। पछिल्लो पटक गत सोमवारदेखि काठमाडौंमा वितरण शुरू भएको मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न खानेपानी मन्त्रालयले सबैमा अपिल गरेको छ ।खानेपानी मन्त्रालयकी सहसचिव तथा प्रवक्ता मीना श्रेष्ठले आज एक सूचना प्रकाशित गर्दै मेलम्चीको पानी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम शुद्ध भएकाले शङ्का नगर्न आग्रह गरेकी हुन् ।
मेलम्चीको पानी प्रशोधन गरेर शुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएकाले पानीको गुणस्तरीयतामा शङ्का गर्न नहुने उनको भनाइ छ ।‘मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम प्रशोधन गरी प्रसारण गरिएको छ ।
पुराना पाइप लाइनहरु लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरणका क्रममा केही समय पानी धमिलो आउन सक्ने भए पनि ‘फ्लसिङ’ सँगै क्रमसः सफा पानी प्रवाह हुने भएकाले खानेपानीको गुणस्तरमा शङ्का नगर्न र बाहिरी हल्लाको पछि नलाग्न मन्त्रालय र मन्त्रालय मातहत खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरू सबैमा हार्दिक अपिल गर्दछ’, मन्त्रालयद्वारा प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ ।
मेलम्चीको पानी धमिलो आएको र यसको गुणस्तरमा शङ्का लागेको भन्ने समाचार आएपछि मन्त्रालयले यस्तो अपिल गरेको हो ।यसैबीच, मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेकाले कुनै समस्या भएमा सो समितिमा खबर गर्नसमेत सो सूचनामा आग्रह गरिएको छ ।
मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा वितरण गर्ने सरकारको लक्ष्य रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ माघ २०८०, १३ : ०१
लेखकबाट थप