काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका निवर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी सर्वसम्मत अध्यक्षमा चयन भएकोमा आफू असन्तुष्ट नभएको बताएकी छिन् । रेशमले बनाएको पार्टीमा उनी नै अध्यक्ष हुँदा आफू असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएको उनले बताइन् । रेमश अध्यक्ष हुँदा आफू असन्तुष्ट भएको भन्दै गलत हल्ला फैलाइएको उनले बताइन् ।
कैलालीको टीकापुरमा सम्पन्न महाधिवेशनले रेशमलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । ‘म आफैं निवर्तमान अध्यक्ष हुँ । अहिले रेशमजीलाई अध्यक्षमा सर्वसम्मत बनाएका छौं । म अध्यक्षको दाबेदार हुन्थेँ भने उम्मेदवारी दर्ता गराउँथे । तर, मेरा बारेमा फेसबुकमा नचाहिँदो हल्ला भए,’ श्रेष्ठले भनिन्, ‘नागरिक उन्मुक्ति पार्टी उहाँ (रेशम)ले जन्माएको पार्टीं हो । देशैभरका महधिवेशन प्रतिनिधिले सर्वसम्मत रुपमा उहाँलाई अध्यक्ष चयन गरेका हौ । सबैले सल्लाह गरेर उहाँलाई अध्यक्ष बनाउनुपर्छ भनेर बनाएपछि अब सिद्धियो ।’
आफू सरकारमा मन्त्रीसमेत रहेको भन्दै उनले असन्तुष्ट भएर बच्चाजस्तो नबन्ने बताइन् । उनी भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय मन्त्रीसमेत हुन् । ‘म सरकारमा मन्त्री छु । यतै व्यस्त पनि छु । तर पार्टीमा पद नपाएको भनेर असन्तुष्ट बन्ने बच्चाजस्तै कराएर हिँड्ने र फेसबुकमा लेख्ने पक्षमा छैन’ उनले भनिन्, ‘म महाधिवेशन स्थलमा बस्ने नबस्ने विषय अरुका लागि सरोकारको विषय होइन ।
हल्लामा कुनै सत्यता नभएको पनि उनको भनाइ छ । ‘महाधिवेशन नहुँदासम्म म नै अध्यक्ष थिएँ । तर पद नपाएको भनेर मैले असन्तुष्टि व्यक्त गरेको छैन । यी सबै हल्ला हुन् । यस्ता निराधार हल्लाको पछाडि लाग्नु हुन्न’ उनले भनिन् ।
कुराकानीपछि भने आफू कुनै असन्तुष्टि नरहेको भन्दै फेसबुकमै स्पष्टीकरण दिएकी छन् । श्रेष्ठले रेशम अध्यक्षमा निर्वाचित भएको विषयलाई सबैले सहर्ष स्वीकार्नुपर्ने जनाएकी छिन् । ‘नागरिक उन्मुक्ति पार्टी तमाम सीमान्तकृत समुदायको पहिचानको आवाज बुलन्द गर्ने पार्टी हो यसको नेतृत्वमा म थिएँ । आज यस पार्टीको जन्मदाता पार्टीको सरक्षंक रेशम चौधरी निर्विरोध सबैले चाहेर अध्यक्षजस्तो गरिमामय पदमा हुनुहुन्छ,’ उनले सामाजिक संजालमा लेखेकी छिन्, 'यो कुरालाई सबैले सहर्ष स्वीकार्नुपर्छ न कि सामाजिक संजालमा भ्रामक कुरा गरेर पार्टीलाई कमजोर पार्ने ।’
आममाफी पाएर रेशम अदालतबाट रिहा भएपछि केहीले रञ्जिता नै अध्यक्ष हुने आकलन गरेका थिए । तर उनका श्रीमानसमेत रहेका चौधरीले नै अध्यक्ष हुने इच्छा व्यक्त गरेपछि श्रेष्ठ अगाडि नबढेको नागरिक उन्मुक्ति पार्टीका नेताहरू बताउँछन् ।
तर, माथिल्लो भूमिका दिनुपर्ने आवाज भने पार्टीभित्रै उठिरहेको छ । त्यसका लागि आन्तरिक छलफल भइरहेको नागरिक उन्मुक्तीका एक नेताले बताए । उनका अनुसार श्रेष्ठलाई सहअध्यक्ष बनाउने तयारी छ ।
टीकापुर घटनामा रेशम जेल परेपछि पार्टीको अध्यक्ष उनकी पत्नी रञ्जिता भएकी थिइन् । कैलालीको टीकापुरमा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलनका क्रममा टीकापुर घटना भएको थियो । सो घटनाको योजनाकार भएको आरोप लागेपछि उनले भूमिगत अवस्थामै २०७४ को चुनाव कैलाली १ बाट जित्न सफल भए ।
जिल्ला अदालत कैलालीले २०७५ मा जन्मकैदको सजाय सुनायो । टीकापुर घटनामा ८ प्रहरी र एक नाबालक मृत्युको घटनाको योजनाकारको रुपमा चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालत दिपायलले दुई वर्षपछि जिल्लाको सजायलाई सदर गर्यो ।
५ वर्ष तीन महिना जेल बसे पनि गणतन्त्र दिवसमा राष्ट्रपतिबाट आममाफी पाएपछि चौधरी गत जेठ १५ गते रिहा भएका थिए । उनी झण्डै १५ वर्ष जेल सजाय छुट पाउन सफल भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ पुस २०८०, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग