बलात्कार मुद्दामा दोषी ठहरिएका सन्दीप लामिछानेलाई आज जेल सजाय तोकिने

सफल खबर संवाददाता

बुधबार, २५ पुस २०८०, ०८ : १४
बलात्कार मुद्दामा दोषी ठहरिएका सन्दीप लामिछानेलाई आज जेल सजाय तोकिने

काठमाडौ । नावालिक एक किशोरीलाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय निर्धारण हुँदैछ। 

जिल्ला अदालत काठमाडौँले लामिछानेलाई आज बलात्कार कसुरमा कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्न लागेको हो।

यहि पुस १३ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई किशोरी बलात्कार मुद्दामा दोषी ठहर गर्दै फैसला सुनाएका थिए। 

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि त्यतिबेलै आजको लागि पेसी तोकिएको थियो।

पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर उनले किशोरीलाई बलात्कार गरेको अदालतको ठहर छ। किशोरीको उमेर भने १८ वर्ष पुगेको अदालतले मानेको छ। त्यसको आधारमा लामिछानेलाई ७ देखि १० वर्षसम्मको कैद हुन सक्ने देखिएको छ।

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ (ङ) मा १८ वर्ष वा त्यसभन्दा बढी उमेरकी महिला पीडित भए ७ देखि १० वर्षसम्म कैद हुन व्यवस्था छ।

गौशाला २६ नाम दिइएकी ती किशोरीलाई काठमाडौँको सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको अभियोग लामिछानेलाई लागेको थियो।

यस प्रकरणमा सबैभन्दा पेचिलो विषय पीडित भनिएकी किशोरीको उमेर भएको थियो। पीडित पक्षले नाबालिगमाथि बलात्कार भएको दाबी गर्दै आएको  थियो।

उता सन्दीपको पक्षबाट किशोरी नाबालिग नभएका जन्मदर्तासहितका कागजपत्र र अन्य प्रमाण अदालतमा पेश गरेको थियो। सन्दीपविरुद्ध आफूलाई नाबालिग बताउँदै गौशाला २६ ले जबरजस्ती करणीको आरोप लगाएकी थिइन्। 

२०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको आरोप लगाउँदै ती गौशाला २६ ले जाहेरी दिएकी थिइन्। त्यसपछि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो।