सैनिक अभ्यासमा सहभागी भए नेपालले ठूलो क्षति बेहोर्नुपर्छ : भीम रावल

सफल खबर संवाददाता

बुधबार, २० भदौ २०७५, १७ : ०४
सैनिक अभ्यासमा सहभागी भए नेपालले ठूलो क्षति बेहोर्नुपर्छ : भीम रावल

प्रमुख सत्तारुढ दल नेकपाका नेता भीम रावलले बिमस्टेक सदस्य राष्ट्रबीच हुने सैनिक अभ्यासमा सहभागी भए नेपालले ठूलो क्षति बेहोर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको बुधवार बसेको बैठकको विशेष समयमा नेकपाका सांसद एवं पूर्व गृह र रक्षामन्त्री समेत रहेका भीम रावलले नेपालले त्यस्तो सैन्य अभ्यासमा सहभागी हुन नहुने बताउनुभएको हो ।  जसरी हिजो प्रधानमन्त्री केपी ओलीले संसदमा बिमस्टेको सन्दर्भमा स्पष्ट पार्ने कुरा गर्नुभयो । प्रधानमन्त्री सैनिक अभ्यासको कुरा छैन भन्नुभएको भन्दै उहाँले त्यही कुरा व्यवहारमा रूपान्तरित हुनुपर्ने बताउनुभयो ।

क्षेत्रीय संगठन मार्फत् सैनिक अभ्यासमा प्रवेश गर्ने काम गरेमा नेपालले दीर्घकालीन, रणनीतिक, राजनीतिक, कूटनीतिक क्षेत्रबाट ठूलो क्षति बेहोर्ने स्थिति हुने उहाँले बताउनुभयो ।  नेता रावलले बिमस्टेकका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानसेनापति सहितको विशेष बैठक बस्ने र सैनिक अभ्यासको कुरा गरे पनि त्यस्तो काममा नेपाल सहभागी हुन नहुने धारणा राख्नुभयो ।
यसअघि मंगलवारको बैठकमा प्रधानमन्त्री ओलीले सैन्य अभ्यासको कुरा नभएको र सैनिक तालिमको कुरा भएको प्रष्ट पार्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस