लुम्बिनी केबलकार: सात महिनामा डेढ लाख पर्यटक, अझै खर्च धान्न मुस्किल

सफल खबर संवाददाता

मंगलबार, २४ पुस २०८०, १२ : ४५
लुम्बिनी केबलकार: सात महिनामा डेढ लाख पर्यटक, अझै खर्च धान्न मुस्किल

बुटवल। बुटवल–पाल्पा जोड्ने प्रदेशकै पहिलो लुम्बिनी केबलकारमा सात महिनाको अवधिमा करिब डेढ लाख पर्यटकले यात्रा गरेका छन् । सात महिनामा एक लाख ४६ हजार ६४५ जना पर्यटक केबलकारमा यात्रागरी पाल्पाको बसन्तपुर पुगेको कम्पनीले जनाएको छ ।

बुटवलको गोलपार्क बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दुरीको केबलकार गत जेठ १५ गतेदेखि सञ्चालनमा आएको थियो ।

डेढ दशकअघि प्रकृया अघि बढे पनि लगानी अभावलगायत कारणले काम अघि बढ्न सकेको थिएन । कूल ५ अर्ब लागतको आयोजना आईएमई ग्रुपले नेतृत्व लिएपछि १४ महिनामै निर्माण सम्पन्न भएको थियो ।

 

जेठ १५ देखि पुस १४ गतेसम्म एक लाख ४० हजार ५ सय एकजना आन्तरिक पर्यटक, भारतसहित सार्क राष्ट्रका ६ हजार १ सय १८ जना तथा तेस्रो मुलुकका ३५ जना पर्यटक केबलकार चढेको कम्पनीका अपरेसन म्यानेजर दिल्लीनारायण कायस्थ सैंजूले जानकारी दिए । कूल पर्यटकमध्ये ३९ हजार २ सय ८ जना टिकट दरमा दिइएको सहुलियत अफरमा आएका सैंजूले बताए ।

 

 

 

सात महिनामध्ये सबैभन्दा धेरै ३५ हजार ७ सय ९७ जना पर्यटक कात्तिकमा भित्रिएका थिए भने असोजमा सबैभन्दा कम ९ हजार ६ सय ५० जनाले केबलकार चढेका थिए ।कम्पनीले प्र्रत्येक टिकट दरको एक–एक प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई स्थानीय कर वापत दिँ दै आएको छ । सात महिनामा ८ करोड ३६ लाख १५ हजार ६सय १२ रुपैयाँको टिकट बिक्री गरेको कम्पनीले भदौ २६ गतेसम्मको कर वापत ३ लाख ९३ हजार ३ सय ५४ रुपैयाँका दरले दुई पालिकालाई ७ लाख ८६ हजार ७०८ बुझाइसकेको अपरेसन म्यानेजर सैंजूले जानकारी दिए ।

दुईतर्फी यात्राको एक हजार रुपैयाँ टिकट दर तय गरिएको भए पनि शुरुदेखि नै ७५० रुपैयाँ कायम छ । एक हजार टिकट दरमा बुटवलको वडा नंं ३ र तिनाउ गाउपालिकाको वडा नं ३ का बासिन्दा, अपांगतासहित फरक क्षमता भएका नागरिक र ३ देखि ४ फिट उचाई भएकालाई ५० प्रतिशत छुट, विद्यार्थी, ७० वर्षदेखि ८० वर्ष सम्मका जेष्ठ नागरिकलाई ४० प्रतिशत तथा ३ फिटभन्दा कमका बच्चा र ८० वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क गरिएको सैजूले बताए ।

पर्यटकको मागलाई मध्यनजर गर्दै कम्पनीले बेला बेलामा टिकट दरमा आकर्षक छुटसहित विभिन्न अफर पनि सञ्चालन गर्ने गरेको उनले बताए ।अष्ट्रियाको डुपलमेयर कम्पनीले बनाएको अत्याधुनिक प्रविधियुक्त मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ ।

‘सञ्चालनमा आएको छोटो समयमै आन्तरिक र भारतीय पर्यटकको आगमन उत्साहजनक छ’, अपरेसन म्यानेजर सैंजूले भने, ‘टप स्टेशनमा पर्यटकलाई दिनभर भुल्ने र राति पनि बास बस्न सक्ने गरी थप पूर्वाधारहरू बनाउंदै छौं ।’

पर्यटक आगमन उत्साहजनक भए पनि सञ्चालन खर्च धान्न मुस्किल भएको उनले बताए । भारतको  उत्तर प्रदेशलगायत प्रान्तबाट अलि ठूलो संख्यामा पर्यटक भित्र्याउन सरकारी तहबाट नीतिगत सुधार र पर्यटकीय पूर्वाधारको बजारीकरणमा सहयोग चाहिने अपरेसन म्यानेजर सैंजूले बताए ।

बसन्तपुरमा निर्मित प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजा हुँंदै आएको दुर्गा माता मन्दिरसहित संरचनाहरू हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेको मन्दिरका पुरोहित सुरेश शर्माले बताए ।

केबलकारको टप स्टेशनमा रेष्टुरेन्ट, जीप लाइन, सेल्फी जोन सञ्चालनमा आइसकेका छन् भने स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान निर्माणको चरणमा छन् । यस्तै दुई वर्षभित्र एक सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनोसहित साढे ३ अर्ब लागतमा पाँचतारे होटेल बनाउने योजना छ ।

करिब सय जनालाई रोजगारी दिएको कम्पनीले पाँच तारे होटेल सञ्चालनमा आउँदा थप ५ सय बढीलाई रोजगारी दिनसक्ने छ । आईएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाडौंको चन्द्रागिरी र नवलपुरको गैंडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।

केबलकार सञ्चालनले बुटवलमा नयाँ र आकर्षक पर्यटकीय गन्तव्य थपिएको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णु पाण्डेयले बताए । यसले प्रदेशको राजधानी बुटवलबाट दाङ सरेपछि सुस्ताएको स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सघाएको उनको भनाइ छ ।

समुद्री सतहबाट १२ सय मिटर उचाईमा रहेको बसन्तपुरमा गर्मी मौसममा तराईभन्दा झण्डै १० डिग्री सेल्सियस तापक्रम कम हुन्छ । हिउँदमा तराईमा हुस्सु र जाडो हुँदा घाम लागेर न्यानो हुने भएकाले बसन्तपुर पर्यटक मात्र नभई सर्वसाधारणको पनि घुम्न जाने रोजाइको थलो बनेको पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस