निमित्त प्रमुखको भरमा लमजुङका अधिकांश सरकारी कार्यालय

सफल खबर संवाददाता

आइतबार, २२ पुस २०८०, १६ : ३०
निमित्त प्रमुखको भरमा लमजुङका अधिकांश सरकारी कार्यालय

लमजुङ। लमजुङमा आधादर्जन बढी सरकारी कार्यालय निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएका छन् ।

कार्यालय प्रमुख नहुँदा विगत लामो समयदेखि जिल्ला कारागार, डिभिजन वन कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पूर्वाधार विकास कार्यालय, जलस्रोत तथा डिभिजन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र जिल्ला मालपोत कार्यालय निमित्त प्रमुखकाभरमा चल्दै आएको हो ।

जिल्लामा तीन वर्षभन्दा बढीदेखि सरकारले दरबन्दीअनुसारका कर्मचारी नपठाउँदा कार्यालय प्रमुख पद रिक्त हुँदै आएकाले कार्यसम्पादन र सेवा प्रवाहको स्तर सुधारमा समस्या हुने गरेको छ । कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेको सेवाग्राही ईश्वरराज सेढाईंले बताए ।

उनले प्रमुखको छिटोछरितो र सहजरुपमा सेवा हुन नसक्नाका साथै अन्य कर्मचारीले कार्यभार सम्हाल्दा सो कर्मचारीको ठाउँ खाली भएर कामको चापसमेत बढी हुने गरेको उल्लेख गरे । जिल्ला मालपोतको निमित्त प्रमुखमा ईश्वरकमल श्रेष्ठलाई तोकिएको छ ।

त्यस्तै कारागारमा कमलापति अधिकारी, पूर्वाधार विकास कार्यालयमा विवेक सिग्देल, डिभिजन वनमा सन्तोष खनाल, जिल्ला आयुर्वेदमा सावित्री न्यौपाने, भेटेरिनरीमा डा. सुनील न्यौपाने र जलस्रोतमा सागर भट्टराई निमित्त प्रमुखको जिम्मेवारीमा छन् । 

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले स्वीकृत दरबन्दी संरचनाअनुसार जनशक्ति पूर्ति हुन नसक्दा दरबन्दीभन्दा तल्लो तहका कर्मचारीलाई निमित्त प्रमुख बनाउनुपर्ने बाध्यता रहेको बताए ।उनले भने, ‘दरबन्दीअनुसारको प्रमुख र अन्य जनशक्ति भएमा दैनिक सेवा प्रवाहमा सहज हुन्छ ।’

प्रतिक्रिया दिनुहोस