राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका दलबीचमै सिट बाँडफाँट हुने

सफल खबर संवाददाता

शनिबार, २१ पुस २०८०, १३ : २४
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका दलबीचमै सिट बाँडफाँट हुने

काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरू बीचमै सिट बाँडफाँट हुने भएको छ। शनिबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने सिट बाँडफाँट गर्ने निर्णय गरेको हो।

बैठकका निर्णय सुनाउँदै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए।

सरकारमा सहभागी दलहरूको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने बताए। उनले भने, ‘सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भयो। राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयलाई लिएर। आज पुनः ४ बजे बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरूको बैठक बस्नेछ। सबैको बैठकबाट राष्ट्रिय सभा सदस्यको बारेमा टुङ्गो लगाउने निर्णय भएको छ। गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुन्छ। सरकारमा सहभागी सहयोगी दलहरुबीचको छलफल र निर्णयले टुङ्गोमा पुग्छ। सरकारमा सहभागी दलहरूको गठबन्धनले चुनाव लड्छ।’

प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुने बताए।

प्रतिक्रिया दिनुहोस