सरकारले ऐन संशोधन गर्ने विधिलाई मिच्ने काम गरिरहेको छ : गगन थापा

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०८०, १९ : ३६
सरकारले ऐन संशोधन गर्ने विधिलाई मिच्ने काम गरिरहेको छ : गगन थापा

काठमाडौँ । काँग्रेस महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका नाममा ऐन संशोधन गर्ने विधिलाई मिच्न नहुने बताएका छन्।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा महामन्त्री थापाले उनले सरकारले विगतको ऐन संशोधन गर्ने विधि र परम्परालाई मिच्दै पछिल्लो समय केही नेपाल ऐन संशोधनको नाममा १५० भन्दा बढी सबै खालका कानुनलाई एकै ठाउँमा राख्ने प्रवृतिले विकृति ल्याउने दाबी गरे।

उनले आवश्यक संशोधनका लागि मन्त्रालयगत छुट्टाछुट्टै ऐनका रूपमा ल्याउन आवश्यक रहेको बताए। उनले सरकारले ऐन संशोधनमा ल्याएको विकृतिमा सांसद आए पनि र नआए पनि संशोधन हाल्ने र कतिपय कुरा बाहिर प्रचार गर्ने गरेको स्वीकार गरे।

उनले केही नेपाल ऐन संशोधनमा सरकार र सांसदहरु मिसिएको ठाउँमा अहिलेको केही नेपाल ऐन संशोधनमा संघीय संसद पनि मिसिएको बताए। उनले कानून बनाउने कुरालाई सरकार, सांसद सबै मिलेर विकृत बनाउन थालिएको भन्दै सुधार गर्न आवश्यक देखिएको बताए। उनले कानुन बनाउने विधि र परम्परालाई उल्झन नगरी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत आउन सरकारलाई स्पष्ट रूपमा समितिले भन्नुपर्ने बेला भएको बताए। उनले औषधि ऐन, २०३५ मा धेरै संशोधन गर्न आवश्यक रहेको भन्दै आफूले सोही ऐनमा व्यवस्था भएका ऐन संशोधन पेश गरेको बताए।

प्रतिक्रिया दिनुहोस