नयाँ शैलीमा ट्राफिक प्रहरीको छड्के

सफल खबर संवाददाता

मंगलबार, १९ भदौ २०७५, २० : ३२
नयाँ शैलीमा ट्राफिक प्रहरीको छड्के

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यातायातका साधनमाथि छड्के चेकजाँचसँगै विभिन्न सचेतनामुलक कार्यक्रमलाई तिब्रता दिएको छ । 
केही दिनअघि छड्के चेकजाँच गरी बढी भाडा लिने सवारीलाई कारबाही गरेको ट्राफिक प्रहरीले मंगलबार भने नयाँ शैलीको सचेतनामुलक कार्यक्रम गरेको छ । रत्ननगर नगरपालिका ४ शान्तिचोकस्थित हाईवेमा गरिएको चेकजाँचका क्रममा ३९ वटा सवारी साधन ट्राफिकको छड्केमा परेका छन् । २५ वटा मोटरसाइकल, २ वटा बोलेरो र २ वटा ट्याक्टरको नम्बर प्लेट पुनर्लेखन गरिएको छ । 
कुनै नदेखिने गरी राखिएको, कुनै रंग उडेर नदेखिने भएको तथा कुनै सवारी साधनले नम्बर प्लेट नै नराखी चलाएको पाइएको थियो । उनीहरुलाई चेकजाँचकै क्रममा सडकमै तत्काल नम्बर लेखाएर पठाइएको थियो । नम्बर लेखाए वापतको रकम सवारीधनीलाई नै तिराइनुका साथै गल्ती गर्ने चालकलाई चक्लेट र खाजा पनि वितरण गरिएको थियो । 


त्यसैगरी १० वटा स्कुल बसलाई ट्राफिक नियम र विद्यार्थीलाई सुरक्षित यात्रा गराउने विषयमा सम्झाइएको थियो । सवारी चालक, यात्रु तथा सर्वसाधारणले नयाँ शैलीको सचेतनामुलक ट्राफिक छड्केको प्रशंसा गरेका थिए । चेकजाँचका क्रममा आवश्यक केही कागजात नभएको पुलिस लेखिएको भारतीय नम्बर प्लेटको गाडीलाई पनि प्रकृया पूरा गरी छाडिएको थियो । 
ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाहीसँगै जनचेतना पनि आवश्यक पर्ने भएकाले नयाँ शैलीको सचेतनामुलक कार्यक्रम गर्नु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले बताउनु भयो । चालकलाई आगामी दिनमा गल्ती नदोहो¥याउने प्रतिवद्धता जनाउन लगाई चक्लेट दिँदा गल्ती गरेकोमा लज्जाबोध भई ट्राफिक नियम उल्लंघनका घटना कम हुने प्रमुख गौतमले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस