म्यानमारमा नौ हजार बढी कैदीलाई माफी

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०८०, १३ : ३०
म्यानमारमा नौ हजार बढी कैदीलाई माफी

काठमाडौं। म्यानमाको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६औँ वर्षगाँठको उपलक्ष्यमा बिहीबार नौ हजारभन्दा बढी कैदीको जेल सजाय माफी गरेको छ ।

म्यान्माका नौ हजार ६५२ र अन्य मुलुकका ११४ जना कैदीलाई मानवीय तथा शान्तिको अधिकार प्रत्याभूत गर्न बनेको म्यान्माको कानूनको प्रावधान बमोजिम सजाय मिनाहा गरिएको आदेशमा उल्लेख छ ।गत वर्ष देशको स्वतन्त्रता दिवसको ७५औँ वर्षगाँठमा सात हजार १२ कैदीलाई आममाफी दिइएको थियो ।

सन् २०२३ अगष्ट १ मा म्यान्माको दोस्रो वासो चन्द्र महिनाको पूर्णिमाका दिन पर्ने बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व धम्मकाक्का दिवसको उपलक्ष्यमा सात हजारभन्दा बढी कैदीबन्दीलाई आममाफी दिएको थियो ।म्यान्माको निर्वाचित सरकारलाई अपदस्थ गरी सन् २०२१ को फेब्रुअरीमा १ सैनिक शासन सुरू भएको थियो । 

सन् २०२१ को सैन्य विद्रोह र त्यसपछिको ‘कू’ विरोधी प्रदर्शनमा भएको हिंसात्मक दमनको प्रतिक्रियामा ‘स्प्रिङ रिभोलुसन’ र ‘पिपुल्स डिफेन्सिभ वार’ को नाममा म्यान्मामा प्रजातन्त्र पुनः बहालीका लागि आन्दोलन चलिरहेको छ ।

देशका अधिकांश भू–भागलाई सेनाको नियन्त्रणमा राखेको, सैनिक सरकारले म्यान्माकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायतका सयौँ नेता तथा हजारौँ कार्यकर्ताविद्ध  भ्रष्टाचार र राज्यविरोधी गतिविधि गरेको अभियोगमा सुरक्षा नियन्त्रण, हिरासत वा जेलमा राखिएको छ ।