भारतीय विदेशमन्त्री एस जयशंकर अ‍ाज काठमाडौं आउँदै

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०८०, ०७ : ३०
भारतीय विदेशमन्त्री एस जयशंकर अ‍ाज काठमाडौं आउँदै

काठमाडौं । नेपाल -भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर अ‍ाज काठमाडौं आउँदै छन् ।

संयुक्त आयोगको बैठक बिहीबार नै सुरु हुने छ । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी भोलि काठमाडौं आउन लागेका हुन् ।  परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेशमन्त्री जयशंकर बिहीबार बिहान सवा ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

अ‍ाजबाट हुने भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालले उत्पादन गरेको र भारतीय लगानीमा नेपालमा उत्पादन भएको दुवै प्रकारका विद्युत् बिक्री गर्नेबारे सम्झौताको तयारी भइरहेको छ ।

जयशंकरको नेपाल भ्रमणका दौरान दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा अन्तिम हस्ताक्षर हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका सिलसिलामा १७ जेठमा नेपाल र भारतबीच २५ वर्षका लागि भारतसँग विद्युत् व्यापारको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । सो अवसरमा दुई देशका ऊर्जासचिव स्तरमा दीर्घकालीन विद्युत् व्यापार (लङटर्म पीपीए)मा प्रारम्भिक सम्झौता भएको थियो ।

दुई दिने नेपाल बसाईको क्रममा विदेशमन्त्री जयशंकरले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकबाहेक उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

उनले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेतासँग भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयले रात्रिभोज पनि आयोजना गर्ने छ । त्यसमा पनि उनी सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस