जलवायु क्षेत्रमा आएको विदेशी सहयोग नेपालले खर्च गर्न सकेन : मन्त्री महतो

सफल खबर संवाददाता

बुधबार, ११ पुस २०८०, १२ : २०
जलवायु क्षेत्रमा आएको विदेशी सहयोग नेपालले खर्च गर्न सकेन : मन्त्री महतो

काठमाडौँ । वन तथा वातावरण मन्त्री डा.वीरेन्द्रप्रसाद महतोले जलवायु क्षेत्रमा आएका विदेशी सहयोगहरू नेपालले खर्च गर्न नसकेको बताएका छन् ।  बुधवार न्युज एजेन्सी नेपालले आयोजना गरेको विश्व जलवायु सम्मेलन (कोप २८) को उपलब्धि र आगामी कार्यदिशाबारे गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विदेशी दाताले दिएको ४६ करोड रुपैयाँ तीन वर्ष भइसक्दासमेत नेपालले खर्च गर्न नसकेको बताए । उनले जिसिएफ फाउन्डेसनले तीन वर्षअघि जलवायु न्यूनीकरणका लागि ४६ करोड रुपैयाँ दिएको भए पनि अहिलेसम्म सरकारले न्यूनीकरणको क्षेत्रमा खर्च गर्न नसकेको र अहिले तलब, गाडी र भत्तामा खर्च गरी ३५ करोडमा झरिसकेको बताए । 

उनले जलवायु परिवर्तनबाट भएका असर न्यूनीकरणका लागि विदेशीको मात्रै मुख ताक्ने नभई आफूले पनि पहलकदमी थाल्नुपर्ने आवश्यकता औँल्याए । ‘जिससएफ भन्ने फाउन्डेसनले क्लाइमेट सम्बन्धी खर्च गर्न ४६ करोड दिएको छ, तर तीन वर्ष भइसक्यो, त्यो ४६ करोड घटेर तीन वर्षमा ३५ करोड भएको होला । त्यो घटेको एक रुपैयाँ पनि त्यो क्लाइमेट चेन्जमा खर्च गर्न सकेनौँ, तलब, गाडी र भत्तामा मात्रै खर्च गरेका छौँ । त्यो पैसा खर्च भएको छैन’ उनले भने, ‘त्यसैले विश्वलाई गाली गर्ने होइन । हाम्रो इन्टरनल्ली समस्या हो । अरूसँग माग्छौँ, भएको पैसा खर्च गन सक्दैनाै ।

उनले सो विषयमा विश्व बैंकसँग मात्र ३ पटक छलफल भैसकेको बताए । महतोले भने, ‘ म आएपछि तीन पटक विश्व बैङ्कसँग छलफल भयो । मैले एउटै कुरा नेपाल क्लाइमेट चेन्ज सम्बन्धी कुनै पनि लोनमा पैसा लिँदैन, ग्राण्डमा दिन्छौँ भने लिन्छौँ भनेपछि २२ मिलियन पैसा दिएको छ, पैसा सानो छ, तर पैसा खर्च गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा सबैभन्दा ठुलो डर छ ।’

उनले कतिपय स्थानमा भएका कानुनी जटिलता खुलाउनुपर्ने आवश्यकता रहेको बताए । मन्त्री महतोले क्लाइमेट चेन्जसम्बन्धी काम गर्ने कर्मचारीहरू मन्त्री फेरिएसँगै फेरिने भन्दा पनि उनीहरूलाई सोही क्षेत्रमा राखेर विज्ञ बनाइ आगामी कोपका लागि तयार गर्नुपर्ने बताए ।

‘क्लाइमेट अबको आउने दिनमा विश्वको लागि सबैभन्दा ठुलो चुनौतीको विषय र सबैभन्दा ठूले एउटा जनता वा देशले भोग्नुपर्ने मानव क्षतिदेखि विभिन्न क्षतिमा यो क्लाइमेटले असर गर्छ है भन्ने कुरा हरेक विश्वले हेरिरहेको छ । हामी पनि डाइभर्ट हुनुपर्ने बेला भइसकेको छ’ मन्त्री महतोले भने, ‘यसमा हामीले जहिले पनि के गर्छौँ भने विदेशीको मुख ताकेर विदेशीले गरिदिन्छ, अनि हामीले गर्नुपर्छ, लिनुपर्छ, भन्दा पनि हाम्रो इन्टरनल्ली यो क्लाइमेट चेन्जले असर गरेको छ कि छैन ? जनजीविकामा, विदेशीले दिएन भने क्लाइमेट चेन्जलाई न्यूनीकरण गर्ने कि नगर्ने ? त्यसमा पनि छलफल गर्न सकेका छैनौँ । क्लाइमेट चेन्जका कारण अहिले कति बच्चा जन्मिदा अपाङ्ग भएर जन्मिएका छन् ? त्यसको असर हामीले काउण्ट गरेका छौँ ?’ 

उनले नेपाली जनताले भोग्नुपरेको असरबारे कुरा उठाउन नसकिएको बताए । त्यसका लागि कानुनहरू जटिल रहेको मन्त्री महतोले बताए । ‘अहिले नेपालमा युरोसिक्स वल्र्डबाइज चलिरहेको छ । त्यो भनेको प्रदूषण कम गर्ने कार्य । भारतले आफ्नो देशमा युरोसिक्स गाडी चलाइरहेको छ । तर नेपालको लागि छुट्टै प्रोडक्शन गरेर कम प्राइज भएको गाडी युरो ५ नेपाललाई दिइरहेको छ । त्यहाँ कहाँ कोर्डिशन संस्थाले गरेको छ । किन बोलिरहेको छैन ?’ उनले भने,  ‘नेपाली जनताले भोग्नुपरेको असरबारे हामीले कहिले पनि कुरा उठाउन सकेका छैनौँ । हामीसँग यस्तो जटिल कानुनहरू छन् । यस्तो प्रोसेसहरू छ, त्यो प्रोसेस पार गर्दै मान्छेको एकवर्ष त के चारवटा कोप आउँछ र जान्छ तैपनि हाम्रो प्रोसेस सकिएको हुँदैन, त्यसमा महसुस गरेका छौँ कि छैनौँ । वातावरण हेर्ने वन मन्त्रालय छ, त्यसमा क्लाइमेटसम्बन्धी हेर्ने चार जना छ । त्यो चार जना पनि हरेक मन्त्री परिवर्तन हुँदा परिवर्तन हुने रहेछ । उसले काम कहिले गर्ने ?’ 

मन्त्री महतोले सरकारसँग नेपालले कति कार्बन उत्सर्जन गर्छ भन्ने तथ्याङ्क नै नरहेको बताए । उनले तथ्याङ्क सङ्कलनका लागि गर्नुपर्ने खर्च सरकारले गर्न नसकेका कारण तथ्यांकबिहीन भएर मन्त्रालय बस्नुपरेको बताए ।

उनले भने, ‘मन्त्रालयसँग डाटा छैन, हामीले कति कार्बन उत्सर्जन गरिरहेका छौँ । हामीले क्लेम गर्ने ठाउँहरू कहाँ कहाँ छन् ? अहिलेसम्म हामीसँग डाटा छैन । किनभन्दा हामीले त्यो चिजमा काम गरेका छैनौँ । त्यसको लागि हामीसँग पैसा चाहिन्छ, टेक्नोलोजी र विज्ञ चाहिन्छ । त्यसको छुट्टै डिपार्टमेन्ट चाहिन्छ । यो गृहमन्त्री, अर्थमन्त्री, वन मन्त्रीसँग होइन, इन्डिपेण्डेन्ट उसले कति काम गरेको छ, कति पैसा लायो त्यो अनुसार उसलाई प्रोत्साहन पनि गर्नुपर्छ र उसलाई काम गर्ने प्लेटफर्म दिनुपर्छ । त्यो हामीसँग छैन । ४५ प्रतिशत जङ्गल नेपालमा छ भन्छौँ । हरेक मानिसको घरमा भएको रुखलाई गन्ने की नगन्ने ।’

मन्त्री महतोले आफूसँग भएको श्रोतलाई रोजगारी स्मृतिसँग जोडेर जानुपर्ने बताए । उनले विदेशीको सहयोगको मुख ताकेर बस्ने हो भने नेपालको समृद्धि हुन नसक्ने बताए । जलवायु परिवर्तनसम्बन्धी सबैले सधैँ एउटै आवाज उठाएर अघि बढ्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस