चिकित्सकहरूको आन्दोलनमा नेपाली कांग्रेसको समर्थन

सफल खबर संवाददाता

सोमबार, १८ भदौ २०७५, १२ : ०५
चिकित्सकहरूको आन्दोलनमा नेपाली कांग्रेसको समर्थन

चितवन : प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सकहरूको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् ।

चितवनको भरतपुरमा सोमबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले चिकित्सकहरूका जायज माग सम्वोधन हुनुपर्ने माग गरे । तपाई प्रधानमन्त्री भएको बेला संहिता जारी गर्नुअघि चिकित्सकहरूसँग किन छलफल र परामर्श गर्नु भएन भन्ने पत्रकारको जिज्ञासामा सभापति देउवाले छलफल गरेर नै ल्याएको प्रतिक्रिया दिए ।

सरकारका पछिल्ला कामकारबाही सहि ढंगले अघि नबढेको सभापति देउवाको आरोप छ । उनले विमस्टेक भने सफलतापूर्वक सम्पन्न भएको बताए । सार्क र विमस्टेक फरक–फरक संगठन भएकाले एकलाई अर्कोसँग जोड्न नहुने उनको भनाइ छ । संयुक्त सैन्य अभ्यास सहमतीअनुसार हुन लागेको देउवाले बताए ।

मुलुकी संहितालाई जनचाहनानुसार परिवर्तन गर्न सकिने बताउँदै उनले भने, “संविधान होस् या संहिता जनचाहनानुसार सुधार गर्न सकिन्छ । सबै मिलेर सुधार गर्दै जानुपर्छ ।” प्रेस स्वतन्त्रतामाथि कुनै अङ्कुश लगाउन नहुनेमा जोड दिँदै उनले भने, “प्रेस पूर्णरुपमा स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता हो र हुन्छ पनि ।” सरकारलाई जनभावना बुझेर काम गर्न सुझाव दिएका सभापति देउवाले मुलुकभर महिला हिंसाका घटना बढ्नु, दोषीलाई कारवाही गर्न नसक्नु र कञ्चनपुरमा बालिकामाथि बलात्कारपछिको हत्या घटनाका दोषी पत्ता लगाउन नसक्नु सरकरको कमजोरी हो भने । देशमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै सभापति देउवाले दोषीको पहिचान गरी कारबाही गराउन सरकार असफल भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस