काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । खडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने भएको हो ।
भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि यातायात नै रोकेर काम गर्न लागिएको हो ।
चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म १०ः४० बजेदेखि रोकिने छन् भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेदेखि रोकिने छन् ।
काठमाडौंबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म १०ः५५ बजेदेखि र मालवाहक सवारी सधान लेवाटारमा बिहान १०ः४५ बजेदेखि रोकिने उनले जानकारी दिए।
यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०ः५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०ः४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ ।
आचार्यका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिने छ । गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । बिस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको आचार्यले बताए ।
आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको छ । बाँकी ३५ मिटर रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काट्ने तयारी गरिएको छ ।
राजधानी काठमाण्डौंबाट तराईको जिल्ला बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा रहेको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।
कार्यालयले चार घण्टासम्म रोकिएका सवारी कटाउँदा लामो समय ट्राफिक जाम हुन सक्ने भन्दै सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ पुस २०८०, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला