ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू

रासस

बुधबार, ०४ पुस २०८०, ११ : ३६
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू

इलाम । इलामको चुलाचुली गाउँपालिका-२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उनी काममै व्यस्त रहन्छन् । दिउँसो प्रायः जनताको काममा व्यस्त रहने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन् ।

दिउँसो प्रायः जनतासँगै सुख दुःखमा समय बिताउने उनी बिहान र बेलुका भने आफ्नो ड्रागन फल खेतीको स्याहारसुसारमा व्यस्त देखिन्छन् । उनले छथरे टोलमा ६ कट्ठा जमिनमा विगत ४ वर्षदेखि ड्रागन फल खेती सुरु गरेका छन् । जनताको काम गरेर बाँकी समय त्यही ड्रागन बगानमा रमाउँदै सफल व्यवसायीका रूपमा आफूलाई समर्पित गराउँदै आएका छन् ।

चुलाचुलीमा नै पहिलो पटक व्यावसायिक ड्रागनखेती सुरु गरेका लिम्बूको ड्रागन बगान हेरिरहुँलाग्दो छ । उनको ड्रागन बगानमा अहिले सेतो र रातो गरी दुई प्रजातिका दुई सय खम्बामा चार सय वटा ड्रागन फलका बोट छन् । सबै बोटले उत्पादनसमेत दिन थालेका छन् ।

‘छथरे ड्रागन फल कृषि फार्म’ दर्ता गरी रु दुई लाखको लगानीमा ड्रागन फलको खेती सुरु गरेका छन् । उनलाई उत्पादन नहुँदासम्म भने फाइदा हुँदैन जस्तो लागेको थियो । बजारको समेत समस्या हुने हो कि भन्ने चिन्ता थियो । तर अहिले उत्पादन राम्रो हुनाका साथै घरबाटै बिक्री हुन थालेपछि उनी हर्षित छन् । उनले फलका अतिरिक्त बिरुवा उत्पादनको कामसमेत गर्दै आएका छन् । उनले या वर्ष मात्र रु दुई लाख १० हजार आम्दानी गरेका छन् । फल बिक्री गरेर रु एक लाख ३० हजार र बिरुवा बिक्री गरेर रु ८० हजार आम्दानी गरेको उनले बताए ।

“जनताको काम गरेर उब्रेको समय ड्रागन खेतीमा नै बिताउने गरेको छु । आम्दानीसमेत राम्रै हुँदो रहेछ”, सदस्य लिम्बूले भने, “वार्षिक रूपमा रु दुई लाख बढी आम्दानी हुने रहेछ । यसैले नानीहरू पढाउन र घर खर्च चलाउन मज्जाले पुगेको छु ।” उनले परम्परागत खेतीलाई विस्थापन गर्दै नयाँ प्रजातिको खेती गर्न एकै पटक चार सय बिरुवा रोपेका थिए । उनले पैसा कमाउन विदेश जानै पर्ने बाध्यता नरहेको बताए । “युवामा पैसा कमाउनकै लागि विदेश जानु पर्दैन । आफैँ लगानी गरेर गाउँमै स्वरोजगार बन्न सकिन्छ । यही सन्देश दिन मैले व्यावसायिक ड्रागन खेती सुरु गरेको हुँ”, उनले भने ।

लिम्बूले उत्पादन गरेका ड्रागन फल नजिकै झापाको दमक बजारमा नै बिक्री गरेको छ । सरदरमा प्रतिकेजी रु. चार सयदेखि पाँच सयमा बिक्री हुने उनले बताए । बिरुवा भने स्थानीय स्तरमा नै बिक्री हुने गरेको छ । बिरुवा पनि प्रतिगोटा रु दुई सय ५०सम्ममा बिक्री हुने गर्दछ । लिम्बू २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

ड्रागन फुड फूल फुलेको ३०औँ दिनमा फल पाकेर खानका लागि योग्य हुन्छ । टिपेर राख्दा १०-१५ दिनसम्म नबिग्रिने हुन्छ । गर्मी समयको जेठदेखि असोजसम्म मुख्य रूपमा फल दिने ड्रागन फल वर्षमा चार लटसम्म फल्ने गर्दछ । यस फलमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ । ड्रागन फ्रुड रोपेको १६ वर्षसम्म उत्पादन लिन सकिन्छ ।

जग्गामा ड्रागन बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागन फुड पूर्वी नेपालमा नौलो फल हो । यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ । एउटै बोटबाट पनि अरू बिरुवाको वृद्धि विकास गर्न सकिन्छ । एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेती तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूको भनाइ छ ।

ड्रागन फलका लागि उष्ण र उष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ । यो फल वार्षिक ५० देखि एक सय ५० सेन्टिमिटर वर्षा र २० देखि ३० सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । नेपालमा यो फललाई सिँचाइ सुविधा भएको ठाउँ तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रमा खेती गर्न सकिने विज्ञहरूको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस