प्रदेशका सबै नागरिकलाई बीमाको पहुँचमा पुर्‍याउँछौं : मुख्यमन्त्री कार्की

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०८०, १५ : ३१
प्रदेशका सबै नागरिकलाई बीमाको पहुँचमा पुर्‍याउँछौं : मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै प्रदेशवासीलाई बीमाको पहुँचमा पुर्‍याइने बताएका छन् ।नेपाल बीमा प्राधिकरणले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।​

प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपद्‌लगायतका क्षेत्रमा सहज र सुलभ सेवा उपलब्ध गराउन प्रदेशवासीमा बीमाको पहुँच पुर्‍याइने उनको भनाइ थियो ।

‘अहिले आगलागीका घटना नै धेरै भइरहेको अवस्थामा निर्देशिकाअनुसार सरकारले राहतस्वरूप अधिकतम ५० हजार उपलब्ध गराउँदै आएको छ’, मुख्यमन्त्री कार्कीले भने, ‘तर त्यो पर्याप्त छैन, हामीले त्यसलाई बीमासँग जोड्न सक्यौं भने पीडितलाई थप राहत महसुस हुन्छ ।’

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले बाख्रा र बङ्गुरको बीमामा भुक्तानीका लागि झण्झटिलो अवस्था सिर्जना भएकाले प्राधिकरणको ध्यानाकर्षण गराए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रमेशकुमार सिंहले सडकलगायत भौतिक संरचना निर्माणमा हालसम्म बीमामा गरेको लगानी बालुवामा पानी हालेसरह भएकामा यसमा सुधार गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस