विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले राजनीतिक नेतृत्वको संरक्षणमा मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले शनिवार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक संरक्षण बिना ठुला भ्रष्टाचार हुनै नसक्ने ठोकुवा गरे ।
भ्रष्टाचारलाई ढाकछोप गर्न एकपछि अर्को भ्रष्टाचारका काण्डहरू बाहिर आइरहेको उनको दाबी थियो । ‘सुन काण्डको छानबिन कहाँ पुग्यो ? ललिता निवासको छानबिन के हुँदैछ ? अहिले एनसेल काण्ड आएको छ । भ्रष्टाचार काण्डका विषयमा गठन हुने कुनै पनि छानबिन समितिको प्रतिवेदन बाहिर आउने गरेको छैन,’ नेता कोइरालाले भने । कोइरालाले भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा देशको नाम बदनाम भएको जिकिर गरे ।
राजनीतिक नेतृत्व, व्यापारी र कर्मचारीको सेटिङमा एनसेल काण्ड भएको उनको दाबी थियो । कोइरालाले जतिसुकै ठुला भ्रष्टाचारका मुद्दा बाहिर आए पनि राजनीतिक नेतृत्वले भने उन्मुक्ति पाउने गरेको बताए ।
‘अन्य काण्डजस्तै आठ–दश दिनमा एनसेलको पनि रिपोर्ट आउला तर त्यसले राजनीतिक नेतृत्वलाई छुँदैन,’ उनले भने, ‘त्यसले व्यापारीलाई छोला अनि अलि अलि कर्मचारीलाई पनि छोला तर राजनीतिक नेतृत्वलाई छुँदैन तपाईंहरु हेर्दै जानुहोला ।’
राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश अगाडि बढेको भन्दै नेता कोइरालाले चिन्ता व्यक्त गरे । वर्तमान नेतृत्वबाट देश नबने बताउँदै कोइरालाले जतिसक्दो चाँडो गठबन्धन सरकारको नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भाषा, साहित्य, कला,संस्कृतिसहित चौतर्फी विकासले मात्रै विराटनगर समृद्ध हुने बताए । विशिष्ट अतिथिका रूपमा सम्बोधन गदैै मेयर कोइरालाले विराटनगरमा छरिएर रहेका सबै भाषा, संस्कृति, कला र साहित्यको विकासका लागि महानगरले योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिए ।
प्रज्ञा प्रतिष्ठान गठनको तयारी भइरहेको बताउँदै मेयर कोइरालाले भौतिक संरचनाको विकाससँगै मानवीय सूचकाङ्कको विकासमा आफू गम्भीर रहेको सुनाए । मेयर कोइरालाले सीमित स्रोत र साधनका बाबजुत महानगरवासीको असीमित इच्छा र चाहना परिपूर्तिका लागि लागिपरेको प्रस्ट पारे । कार्यक्रममा वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठ र वरिष्ठ पत्रकार आदरणीय धर्मेन्द्र झा दाइलाई नगदसहित पुरस्कृत गरिएको थियो ।
श्रेष्ठलाई ५१ हजार र झालाई २५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै वरिष्ठ साहित्यकार दधिराज सुवेदीको उपचारमा संलग्न भक्तपुर क्यान्सर अस्पतालका डा. उज्ज्वल चालिसेलाई समेत सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० मंसिर २०८०, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुःखद : शेखर कोइराला
देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ: डा. शेखर कोइराला
लोकतन्त्र खतरामा छ : शेखर कोइराला
देउवालाई शेखरको सुझाव- एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस्
भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यक : शेखर कोइराला
शेखर कोइराला होइन्, देउवा नै चाहन्थे सत्ता समिकरण फेर्न